उद्योगलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सीप सिकाउने योजना

विराटनगर । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको मागलाई सम्बोधन गर्न उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्याएको छ ।

उद्योगलाई आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिका बिचमा रहेको भिन्नता अन्त्यको लागि दक्ष जनशक्ति अभावको समस्यालाई सम्बोधन गर्न तालिम प्रदायक संस्था र उद्योगबिच समन्वय गरी दक्ष जनशक्तिको उपलब्धतालाई सहजीकरण गर्न लागिएको हो । संगठनमा छुट्टै सीप विकास इकाईको स्थापना गरि कार्यान्वयनमा ल्याइएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

संगठनमा स्थापित इकाईले उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति तालिम प्रदायक संस्थाहरूसँगको सहकार्य सम्बन्धित उद्योगमा ‘औद्योगिक प्रशिक्षार्थी अप्रेन्टिसीप मोडेल’ मा तालिम सञ्चालनका लागि समन्वकारी भूमिका निर्वाह गर्ने प्याकुरेलले बताए ।

नमूना कार्यक्रमका रुपमा संगठनले सीटीईभिटीको मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट मेकानिकल र इलेक्ट्रिकल विषयमा २४ महिने डुअल भेट अप्रेन्टीसीप र १८ महिने कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने तयारी गरेको हो ।

माग र आपूर्तिको डाटा बेस अद्यावधिक गर्ने, तालिम सञ्चालनमा समन्वय गर्ने र समयानुकूल तालिमको विषय र पाठ्यक्रम परिमार्जनका लागि नीतिगत सम्बोधनका लागि यस क्षेत्रका सरोकारवालाहरू निजी क्षेत्र, तालिम प्रदायक संस्थाहरू एवं सरकारी नियमन निकायबीच निरन्तर नीतिगत संवाद श्रृङ्खलाहरूमार्फत नीतिगत सहजीकरण गर्ने सीप विकास इकाईको कार्ययोजना रहेको संगठनका महानिर्देशक चुडामणि भट्टराईले स्पष्ट पारे ।

हेल्भेटास इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा निजी क्षेत्र, सरकार र तालिम प्रदायक शैक्षिक संस्थाहरूबीच तालिम सहजीकरण, नीतिगत सुधार र रोजगारी सिर्जनाका लागि समन्वय गर्न दिगो नीति फोरमका रुपमा आफ्ना कार्यक्रमहरू सञ्चालन गरिने संगठनले जनाएको छ ।

औद्योगिक व्यवसाय ऐन २०७६ मा उत्पादनमुलक उद्योगमा कुल जनशक्तिमध्ये कम्तिमा १० प्रतिशत प्रशिक्षार्थी कामदार राखेमा त्यस्तो कामदारलाई प्रशिक्षण दिँदा दिनुपर्ने निर्वाह खर्च, प्रशिक्षण खर्च र उद्योगमा कार्यरत जनशक्तिको उत्पादन क्षमता विकासमा भएको खर्च रकम आय कर गणना प्रयोजनका लागि कट्टी गर्न पाउने व्यवस्था गरेको छ । नेपाल सरकारले यस आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको सहकार्यमा सिपयुक्त जनशक्ति उत्पादन गर्न उत्पादनमुलक र सेवामुलक उद्योगमा औद्योगिक प्रशिक्षार्थी तालिम सञ्चालन गर्ने भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *