पालिकामा कर्मचारी समस्या, एउटै व्यक्तिलाई ४ वटासम्म वडा

विराटनगर । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको जम्मा ७ वटा वडामा दुईजना वडा सचिवको भरमा चलेको छ । दरबन्दीअनुसारको कर्मचारी नहुँदा कम गर्न अप्ठेरो भएको हो । पवनकुमार देवलाई अहिले ४ वटा वडा जिम्मा लगाइएको छ ।

फक्ताङ्लुङ गाउँपालिकाको वडा नम्बर १, ५,६ र ७ नम्बर वडाको जिम्मेवारी पाएका उनलाई एउटा वडाबाट अर्को वडामा पुग्न एक दिनभन्दा बढी लाग्छ । देवलाई वडा नम्बर १ बाट वडा नम्बर ५ मा जान ५ घण्टा लाग्छ, वडा नम्बर ५ बाट ६ मा जान तीन घण्टा र वडा नम्बर ६ बाट ७ मा जान १ दिन लाग्ने गरेको उनी सुनाउँछन् । त्यस्तै वडा नम्बर २ र ३ नम्बर वडाको जिम्मेवारी पाएका वडा सचिव ओमप्रकाश पौडेललाई पनि कार्यालयको काम गर्न भ्याइनभ्याई हुन्छ ।

कर्मचारीलाई लाए अह्राएको काम गर्नु पर्ने बाध्यात्मक अवस्था भएको कारण पालिकाको निर्णयअनुसार काम भइरहेको कर्मचारीहरू बताउँछन् । वडा सचिवको दरबन्दी नहुँदा वडा नम्बर ४ को वडा सचिवको जिम्मेवारी अनमीलाई दिइएको छ । वडा नम्बर ४को वडा सचिवमा त्यही वडामा कार्यरत स्थायी अनमी ईन्दिरा बरैलीलाई दिइएको पालिकाले जनाएको छ ।

No description available.

वडा सचिव पवनकुमार देवका अनुसार धेरैवटा वडा हेर्दा निक्कै समस्या हुने गरेको छ । बैठकहरू बस्दा, सामाजिक सुरक्षा भत्ता वितरणको बेला तथा विद्यालय भर्ना गर्ने बेला जन्मदर्ता लिन आउँदा कर्मचारीसँगै सेवाग्राहीलाई सेवा लिन समस्या हुने गरेको देवको अनुभव छ । देवलाई जिम्मेवारी दिइएको वडा नम्बर १ देखि ७ मा पुग्न २ दिन लाग्ने गरेको उनले बताए । यसरी एउटै व्यक्तिले ४ वटा वडा नै हेर्न थालेको ८ महिना बितेको छ ।

एउटा वडामा ७ दिन बस्नुपर्ने भनेर गाउँपालिकाको बोर्ड बैठकमा निर्णय भएको छ । तर देव काम पर्दा बोर्डको निर्णय भनेर बसिरहन नसक्ने बताउँछन् । ‘तत्काल काम पर्‍यो भने गइहाल्नुपर्ने हुन्छ,’ उनले मकालुखबरसँग भने, ‘तत्काल जानुपर्ने अवस्थामा मैले एक हप्ता एउटै वडामा बस्छु भन्न पाउँदिनँ ।’

एउटै व्यक्तिले धेरैवटा वडामा काम गर्दा एउटाबाट अर्कोमा गएर काम गर्न असहज हुने गरेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज लिम्बुले बताए । प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र दुईजना वडा सचिव बाहेक सबै कर्मचारी करारमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘नियमित काममा जान सक्ने अवस्था नभएपछि पञ्जीकरणलगायतका कामहरू कार्यालय सहयोगीलाई जिम्मा लगाएर सचिवले हिँड्नुपर्ने बाध्यता ती वडाहरुमा देखिएको छ,’ गाउँपालिकाका अध्यक्ष लिम्बुले भने, ‘कर्मचारी नहुँदा सेवाग्राहीलाई निक्कै समस्या भएको छ ।’

No description available.

सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिका- २ का एकजना वडा सचिवको सरुवा भएपछि त्यहाँ प्राविधिक कर्मचारीले वडा कार्यालय चलाएको अवस्था छ । एक वर्षअघिसम्म समस्या रहेको यो गाउँपालिकामा त्यसरी अरु पालिकाको जस्तो समस्या नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद भट्टराईले जानकारी दिए ।

‘हामीलाई शुरुको वर्षमा निक्कै समस्या भएको थियो,’ उनले भने, ‘गत वर्षदेखि लोकसेवाबाट नियुक्त भएर कर्मचारी आएपछि समस्या भएको छैन, एकजना वडा सचिवको सरुवा भएपछि अहिले त्यहाँ प्राविधिकले चलाइरहनुभएको छ ।’

कर्मचारी टिकाउन बास
कतिपय गाउँपालिकामा कर्मचारी नभएर एउटै सचिवले धेरै वडाहरू हेर्नुपर्ने बाध्यता देखिँदा सोलुखम्बुको महाकुलुङ गाउँपालिकाले भने गाउँपालिकाभित्र आएका कर्मचारीलाई बस्ने व्यवस्था मिलाएको छ । सोलुखुम्बुको अत्यन्त विकट ठाउँ भनेर चिनिने बुङ्चट्टानमा अहिले कर्मचारी अभाव हुने गरेको गाउँपालिकाले जनाएको छ ।

No description available.

गाउँपालिकाका अध्यक्ष सागर किराँतीले गाउँपालिकामा सरुवा भएर आएकाहरुलाई पालिकाले बस्ने व्यवस्स्था मिलाएको छ भने वडामा सरुवा भएर गएका कर्मचारीको लागि वडा कार्यालयले बस्ने व्यवस्था मिलाएकाले अहिलेसम्म कर्मचारी समस्या भएको छैन । ‘कुनै समय कर्मचारी बुङमा सरुवा भएर आउँदा कारबाही गरेर पठाएको महसुस गर्ने अवस्था थियो,‘ किराँतीले मकालुखबरसँग भने, ‘अहिले हामीलले त्यस्तो सोच तोड्न सफल भएका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *