निर्मला पन्त हत्याको तीन वर्ष

अब हाम्रो सरकारले न्याय दिनुपर्छ : प्रवक्ता शर्मा

काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुगेको छ । तर प्रहरीले हालसम्म उनको बलात्कारपछि हत्या गर्ने व्यक्ति पक्रिएर सार्वजनिक गर्न सकेको छैन ।

घटना भएदेखि नै गिजोलिएको यस प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान नभएका होईनन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याप्रकरणलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ ।

यहीबीच निर्मलालाई सम्झिँदै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सत्तारुढ बनेपछि समयले जवाफ माग्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै उनले लेखेका छन्, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।’

निर्मलालाई न्यायसँगै अब कसैले पनि यस्तो नियति भोग्न नपरोस् भन्न विशेष तदारुकता बढाउनुपर्ने प्रवक्ता शर्माको सुभलाव छ । ‘बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्वभन्दा माथि सामाजिक रूपान्तरणको साझा अठोट र अभियान जरुरी छ,’ उनले अगाडि लेखेका छन्, ‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, बिशेष तदारुकता बढाऔं !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *