प्रदेश २

सचिवलाई न गाडी छ, न बस्ने कार्यकक्ष !

जनकपुरधाम  । मन्त्रालयका सचिव भन्ने बित्तिकै ‘ब्यूरोक्रेट’का हाईप्रोफाइल । उनीहरुलाई सुविधै सुविधा हुन्छन् । क्वार्टर, चार पांग्रे गाडीलगायत प्रशस्तै सुविधा हुन्छन् । तर प्रदेश मन्त्रालयका एकजना सचिव दैनिक साइकल चढेर मन्त्रालय आउने जाने गरेको सुन्दा पत्यार नलाग्न सक्छ । तर यो वास्तविक हो ।

प्रदेश २ का खानेपानी तथा उर्जा विकास मन्त्रालयका सचिव रामआधार साह केही दिन यता दैनिक साइकल चढेर मन्त्रालय आउने/जाने गर्नुपरेको छ । तर यस्तो गर्नु उनको रहर नभएर बाध्यता हो । यसअघि भौतिक पुर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका उनलाई प्रदेश २ मा मन्त्रालय फुटाएर संख्या थपिएपछि खानेपानी तथा उर्जा विकास मन्त्रालयको सचिवको जिम्मेवारी पनि उनकै काँधमा आयो । भौतिक पूर्वाधार विकास मन्त्रालयलाई नै फुटाएर खानेपानी तथा उर्जा विकास मन्त्रालय बनाइएपछि दुबै मन्त्रालय हेर्ने जिम्मेवारी तत्काल सचिव साहलाई नै दिइयो ।

बिना तयारी मन्त्रालयहरु थपिएपछि कर्मचारी अभावसँगै कोठाको समेत अभाव भयो । यी दुबै मन्त्रालयको जिमेवारी पछिल्लो दुई महिनादेखि सचिव रामआधार साहले सम्हाल्दै आइरहेकोमा नयाँ सचिव मन्त्रालयमा हाजिर भएपछि दुई सचिवबीच खिचातानी सुरु भयो । भौतिक पूर्वाधार विकास मन्त्रालयमा अर्का सचिव दिपक कुमार दास आएपछि साहलाई खानेपानी तथा उर्जा विकास मन्त्रालयमा सरुवा गरियो ।

गत शुक्रबार मात्रै भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव भएर दास हाजिर भए । उनी आएलगत्तै त्यहाँ पहिलेदेखि कार्यरत सचिव साहले प्रयोग गर्दै आइरहेको कार्यकक्ष, गाडी आफ्नो कब्जामा लिएपछि साहको विजोग भएको छ । साहको सरुवा खानेपानी तथा उर्जा विकास मन्त्रालयमा भएपनि कार्यकक्ष एउटै हुँदा उनको कुर्सीमा दासले कब्जा जमाएपछि अहिले साहको दुबिधामा रहेको बताइन्छ । साहले पाएका सवारीसाधनहरु पनि खोसिएका छन् भने कार्यकक्षमा नयाँ सचिवले कब्जा जमाएपछि साइकलमै सीमित भएका छन् । भौतिक मन्त्रालयको भित्तामा झुण्ड्याइएको सचिव रामआधार साहको नेमप्लेट बोर्ड, कार्यकक्ष र गाडीसमेत नयाँ सचिव दासले हाजिर भएकै दिनदेखि नियन्त्रणमा लिएपछि अहिले उनी अन्योलमा परेका हुन् ।

काँग्रेसबाट भौतिक मन्त्री बनेका रामसरोज यादवले सचिव रामआधार साहलाई हटाएपछि उनको सरुवा भौतिकबाटै फुटाएर बनाइएको नयाँ मन्त्रालय खानेपानी तथा उर्जा विकास मन्त्रालयमा भएको पत्र नबुझ्दै अर्का सचिव दासले कार्यकक्ष र गाडी आफ्नो अधिनमा लिएका छन् । सामान्यतया सरुवा पत्र प्राप्त भएपछिको २२ दिनभित्र बरबुझारथ गरि सरुवा भएको कार्यालयमा हाजिर हुन जानुपर्नेमा आफुलाई थाहा नै नदिई कार्यकक्ष, गाडीदेखि सम्पूर्ण सामग्रीहरु नयाँ सचिव दासले कब्जा गरेको सचिव साहले आरोप लगाए । उनले भने,-‘गलत प्रक्रियाबाट एकाएक छापामार शैलीमा यसरी कब्जा गर्नु जिम्मेवार कर्मचारीलाई सुहाएन, उहाँ भन्दा म १० वर्ष सिनियर छु कमसेकम त्यो पनि ख्याल गर्नुपथ्र्यो ।’

सचिव साहले प्रयोग गर्दै आएका गाडी नयाँ सचिवले कब्जामा लिएपछि सचिव साहले साइकलमा कार्यालय आवागमन सुरु गरेका छन् । सचिव साहले कार्यालय समयमा पुग्नुपर्ने भएकोले गाडी खोसिएपछि साइकलमै कार्यालय आवागमन गर्न सुरु गरेको बताए । मधेश भवनस्थित खानेपानी मन्त्रालय र भौतिक मन्त्रालयसँगै टाँसिएको छ भने दुबै मन्त्रालय काँग्रेसकै भागमा परेको छ ।

स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव तत्कालिन जिल्ला विकास समिति धनुषाका सभापति हुदाँ हालका सचिव दास त्यतिखेर जिविसमै कर्मचारी थिए । मन्त्री यादवलाई मन्त्रालयमा सहयोग गर्दै आइरहेका जीवनाथ चौधरी पनि त्यतिबेला जिविसमै सहलेखापाल थिए । पछि भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले चौधरीलाई दोषी ठहर्‍याएका थिए । उनै चौधरीले आफ्नो अनुकुलका कर्मचारी दासलाई मन्त्रालयमा सचिवको रुपमा ल्याएको बताइएको छ । यसअघिका सचिव साहसँग कुरा नमिल्दा हटाएर नयाँ सचिव ल्याएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार यसअघि जितेन्द्र सोनल भौतिक मन्त्री हुदाँ राज्यमन्त्री डिम्पल झाको ‘इन्ट्रेस्ट’मा सचिव साहलाई त्यहाँ सरुवा गरि ल्याइएको थियो भने केन्द्रमा काँग्रेसको सरकार बन्ने बित्तिकै जीवनाथ चौधरीको  ‘इन्ट्रेस्ट’मा बिमलेन्द्र निधिले दासलाई सचिवको रुपमा त्यहाँ पठाइएको छ ।

प्रतिक्रिया

2 thoughts on “सचिवलाई न गाडी छ, न बस्ने कार्यकक्ष !

  1. बडो राम्रो काम गर्नुभएको छ । अरूलाई पनि यसो गर्न मन जाग्ने गरी उत्प्रेरित गर्नुहोस् । सम्मान छ सलाम छ ।

  2. राम्रो काम उत्प्रेरणा मिलोस् सबैलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *