कविता

समृद्धिको अधुरो गीत

केही समय भेटेर आएपछि
चटक्कै बिर्सिएको छ परदेशी बादलले
जूनको स्थायी ठेगाना ।

नसुकाएपछि झुपडीले आँगनमा बिस्कुन
जाने बाटो नै भुलेको छ घामले त्यहाँसम्म ।

कसैको यादमा छट्पटिएझैँ
हतारिँदै बगेका छन् नवजवान नदीहरू मुग्लानतिर
अभावले बलेको छैन पुरानै घरको चुल्हो
छानाबाट खसेको छ विपत्तिको दर्के झरी
र बलेसीमा चुटिएका छन् गदावरी फूलहरू ।

स्पष्ट छुट्टाइएको छ बगैंचामा फूलहरूको रंग
कायमै छ विभेद पानी पँधेरादेखि मन्दिरसम्म
चर्किँदो छ समानताको लडाइँ दिनप्रतिदिन
र शीतयुद्ध छ मेरो आफैंसँग ।

आकाश स्वयंले गरेको छ ताराहरूको बलात्कार
त्यो बीभत्स दृश्य देखेर
आँखा छोपेर रोइरहेकी छिन् सुत्केरी पृथ्वी ।

ओ साथी ! यस्तै छ म बाँचेको समय
उभिएको छ देश टाउको टेकेर
लागेको छ नेतृत्वमा विचारको खडेरी
र ओइलिएका छन् साढे तीन करोड मनहरू ।

यो साँझ-
म आइपुगेको छु ऋणको गह्रौं भारी बोकेर भट्टी
जहाँ बिहान हुने आशामा पिइरहेछु उधारो रक्सी
र बेहोशीमा गाइरहेछु समृद्धिको अधुरो गीत ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *