खोलामा पक्की पुल, पारि न बस्ती न बाटो

धनगढी । कैलालीको धनगढी उपमहागनरपालिका भित्रै एउटा यस्तो पक्की पुल बनेको छ, जुन पुल दैनिक ओहोरदोहार गर्न प्रयोगमै आउँदैन । जहाँ पुल हुँदै हिँड्ने सडक नै छैन । सडक नभएपछि गाडी चल्ने कुरै भएन । धनगढी उपमहानगरपालिका- १९ ‘जे’ गाउँको डाँडाचोक नजिक फुलबारी खोलामा बनेको छ‚ यस्तो पुल ।

चार करोड ७० लाख रुपैयाँको लागतमा बनेको पुल अहिले कहिलेकाँही खेतीबाली हेर्न खेतसम्म जाने किसानहरूका लागि मात्रै प्रयोग भइरहेको छ । अन्यथा त्यो पुलमा कोही हिँड्दैन । बर्खाको समयमा खेतसम्म जानका लागि सजिलो भएकोमा स्थानीय किसान भने खुसी छन् । तर खेतसम्म जान स्थानीय किसानलाई सानो खोलामा कल्भर्ट नै बनाएको भएमात्रै काफी हुन्थ्यो ।

खोलापारि ठूलो खेतीयोग्य जमिन छ । खेतसम्म जानबाहेक त्यो बाटो अन्य काममा प्रयोग हुँदैन । अहिले खोलामा माछा मार्नेहरुका लागि भने सो पुल ओहोरदोहोर सजिलो बनेको छ । यो हेर्दा यत्तिका लागि मात्रै त्यो सानो खोलामा करोडौं खर्चेर दुई लेनको पक्की पुल निर्माण गरिएको हो कि भन्ने भान हुन्छ । पुलको बाटो हुँदै कुनैपनि गाडी चल्दैन । पुलपारि गोरु गाढा चल्न सक्ने बाटो पनि छैन । बाटोको निकाससमेत छैन । बाटो नभएपछि गाडी चल्दैन ।

No description available.

पुलपारि केही भू-भाग धनगढी उपमहागनरपालिकाकै पर्छ भने धेरै भू-भाग कैलाली गाउँपालिकाको क्षेत्रभित्र पर्छ । पारि बस्ती छैन । खेतैखेत छ । केही किलोमिटरको दुरीमा बस्ती छ, तर त्यो बस्तीलाई अहिले पुल बनेको ठाउँभन्दा एक किलोमिटर टाढा डाँडाचोक हुँदै बनेको पक्की सडकले जोड्छ । यसको अर्थ सो पुल हुँदै बस्तीसम्म जानुपर्ने आवश्यकता नै छैन । त्यसका लागि बस्तीसम्म पुग्ने राम्रो बाटो पनि छैन ।

स्थानीयकै अनुसार चार वर्षअघि सो ठाउँबाट एक किलोमिटर अगाडि बस्ती भएको स्थानमा पुल निर्माण गर्न सर्भेसमेत गरिएको थियो । तर त्यसबेला क्षेत्र नम्बर ५ बाट निर्वाचित तत्कालीन सांसद पुस्करनाथ ओझाले सोही ठाउँमा नै पुल निर्माणका लागि दबाब दिएका थिए । पारितिर खेतीयोग्य जमिन भएको र त्यसमा कुनै स्वार्थ जोडिएकै कारण नचाहिने ठाउँमा पुल बनाउन दबाब दिएको हुनसक्ने स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

बाढीले खेतीयोग्य जमिन कटान गरिरहेको ठाउँमा तटबन्ध निर्माण गरिनुको सट्टा नचाहिने पुल निर्माण गरिएको भन्दै केही स्थानीयले आक्रोश समेत पोख्दै आएका छन् । पुल निर्माणका क्रममा स्थानीले विरोधसमेत जनाएका थिए । तर स्थानीयको आवाजको कुनै सुनुवाई भएन ।

वडा नम्बर १९ का वडाध्यक्ष तिलुराम चौधरीले स्थानीयको असन्तुष्टिका बीच नै सो पुल निर्माण भएको बताए । उनले अहिले पुल प्रयोगविहीन अवस्थामा रहेको बताए । एक वर्ष अगाडि निर्माण सम्पन्न भएको पुलको लम्बाई २५ मिटर छ । उक्त पुल धनगढीको रोयल उच्चाकोटी राजेन्द्रस्वर जेभीले दुई वर्ष लगाएर निर्माण गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *