दोबाटे विश्वकर्माको गुनासो

‘फोन आउला भनेर कुरिरहेँ, आएन’

पोखरा । शुक्रबार बिहानसम्म गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री बन्ने नेताहरुको सूचीमा ‘डोबाटे विश्वकर्मा’ पनि अटाएको थियो । तनहुँका विश्वकर्मा नेपाली कांग्रेसको राजनीतिमा धेरै पुरानो र परिचित नाम हो । समानुपातिक समावेशी सिद्धान्तका हिमायती उनी सरल र शालीन स्वभावका छन् ।

विश्वकर्मा कांग्रेसमा रामचन्द्र पौडेल समूहका मानिन्छन् । केही दिनअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल काठमाडौं पुगेर फर्किँदासमेत उनको नाम मन्त्रीको सूचीमै थियो । बिहीबार नै मन्त्री नियुक्त गर्ने तयारी गरिएकोमा चर्को दबाबपछि शुक्रबारलाई सारिएको थियो । तर, शपथ ग्रहण गर्ने समयअघि एकाएक उनको नाम काटियो र सूचीमा अर्कै नाम चढाइयो । डोबाटेसहित स्याङ्जाका मेखलाल श्रेष्ठ र बाग्लुङका मणिभद्र शर्माको नाम पक्का भएको सूचना कांग्रेस निकट श्रोतले सार्वजनिक गरेको थियो ।

उल्टोपाल्टो नजान्ने मान्छे भएपनि गाह्रो हुने रहेछ राजनीतिमा ।

पछि डोबाटेको ठाउँमा विन्दुकुमार थापाको नाम चढ्यो । मन्त्री नपाएपछि पोखरामै भएका डोबाटे शपथ ग्रहणमा सहभागी नभइ तनहुँ फर्किए । ‘माथीबाटै निर्णय भएर आएको हो । बिहान ८ बजेसम्म ठिकै थियो । कहाँबाट के भयो थाहा भएन,’ देबाटेले मकालुखबरसँग भने— ‘मन्त्री बन्ने भनेर त बोलाउनुभएन । भोलि बिहान भेट्नुपर्छ भन्नुभएको थियो । फोन आउला भनेर कुरिरहेको थिएँ । १० बजेसम्म नआएपछि गडबड कुरा सुनेँ ।’

आफू मन्त्री नबन्ने थाहा पाएपछि उनले मुख्यमन्त्रीलाई भेटेर संघीयताको मर्मविपरीत मन्त्रिमण्डल विस्तार भएको गुनासो गरेका थिए ।  ‘मुख्यमन्त्रीलाई भेटेर संविधानको मर्म र भावनाविपरीत छ भनेँ । समावेशी र समानुपातिक विषय पनि भएन । सिनियरिटी पनि भएन,’ डोबाटे भन्छन्, ‘जोसँग धन छ उही हुने होला । अरु कुरा त मैले बुझिनँ । कल्पना पनि गरेको थिइनँ यस्तो होला भनेर ।’

आफू शालीन भएकोले पनि दाबी नपुगेको हुनसक्ने उनी सुनाउँछन् । ‘म शालीन स्वभावको मान्छे । अरुले भनेको विश्वास गर्ने मान्छे हुँ,’ थपे— ‘संघर्ष गरेर हिँडें लामो समय । उल्टोपाल्टो नजान्ने मान्छे भएपनि गाह्रो हुने रहेछ राजनीतिमा ।’

मन्त्रीको सूचीबाट डोबाटेको नाम काटिनुले कांग्रेसको राजनीतिमा ठूलो अर्थ बोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्र मानिने गण्डकीमा उनी नै कमजोर देखिए । यहाँ ५ मध्ये ४ मन्त्री देउवा निकटका छन् । मुख्यमन्त्री भने महामन्त्री डा. शशांक कोइराला नजिकका हुन् । गण्डकीको कांग्रेस संसदीय दलमा पनि देउवाको बर्चस्व छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *