अर्थमन्त्री समक्ष चेम्बरद्वारा आर्थिक गतिविधि विस्तार गर्न सुझाव पेश

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मा समक्ष आर्थिक गतिविधि विस्तार गर्न सुझाव प्रस्तुत गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारी तथा सदस्यसम्मिलत एक टोलीले अर्थमन्त्री जनार्दन शर्मासमक्ष भेट गरी उक्त सुझाव पत्र बुझाएको हो ।

चेम्वर अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताए । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक क्रियाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्यूनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बर, समस्त उद्योगी तथा व्यवसायी र उद्योग तथा यातायात क्षेत्रका मजदूरलाई लगाउने सुविधा उपलब्ध गराइदिन आग्रह गरे ।

यसबाहेक चेम्वर अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने, सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने सुझाव दिए ।

त्यस्तै, बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने । निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिन आग्रह गरे ।

त्यसैगरी घर जग्गा कारोवारलाइ ब्रोकर लाइसेन्सको माध्यमबाट नियमन गरिनु पर्ने , डिजीटल कारोवारलाई प्राथमिकता दिइनु पर्ने तथा चेक अनादर भएमा चेक जारी गर्ने निकाय तथा व्यक्तिलाइ कालो सूचीमा राख्ने, साना व्यवसायहरुलाई सहजीकरण गर्न कुल कारोवारको सिलिङ वढाउनु पर्ने सुझाव प्रस्तुत गरे ।

उक्त अवसरमा अर्थ मन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न औद्योगिकरणको माध्यमबाट मात्र संभव भएको बताए । आन्तरिक उत्पादन वृद्धि गर्न र आन्तरिक लगानी वृद्धि गर्न सरकारको ध्यान केन्द्रित रहेको बताए । यस सन्दर्भमा सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताए । नेपाल चेम्वर अफ कमर्सको प्राप्त सुझावका लागि धन्यबाद ज्ञापन गरे ।

उक्त अवसरमा अध्यक्ष मल्लले अर्थमन्त्री पदमा नियुक्त भएकोमा अर्थमन्त्री शर्मालाई बधाई तथा शुभकामनासमते दिए ।

उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डेको तथा राजस्व समितिका सभापति पर्शुराम दाहालको पनि उपस्थिति थियो ।

यस्ता छन् चेम्बरका बुँदागत सुझाव 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *