सामाजिक सञ्जालमार्फत रकम जुटाएर एम्बुलेन्स सञ्चालन

स्याङजा । सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट यहाँका एक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित आलमदेवी सामुदायिक परोपकार मञ्च तुलसीभञ्ज्याङ (आसा) ले सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट सुविधासम्पन्न एम्बुलेन्स बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

सवारी साधनको अभावकै कारण अकालमै कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हाल जापानमा बस्दै आएका स्थानीय खेम जिसीले अगाडि सारेको परिकल्पनालाई मूर्तरुप दिने गरी संस्थागतरुपमा अगाडि बढिएको आसाका कोषाध्यक्ष देवेन्द्रदेव खनालले बताए ।

तुलसीभञ्ज्याङसहित आसपासका इच्छुक दाता तथा यहाँबाट रोजगारीका सिलसिलामा विदेशी भूमिमा रहेका नेपालीको स्वतःफूर्त सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको कोषाध्यक्ष खनालको भनाइ छ ।

नेपाल सरकारद्वारा राजस्व छुटमा नौ लाख ५६ हजार रुपैयाँमा महिन्द्रा कम्पनीको बोलेरो पिकअप एम्बुलेन्स खरिद गरी आवश्यक अक्सिजन सिलिण्डर जडान, सिट मर्मत, बीमासहित झण्डै तेह्र लाखको खर्चमा सञ्चालनमा ल्याइएको उनले बताए ।

‘विशेष गरी तुलसीभञ्ज्याङका जिमूहालगायत ठाउँबाट आवश्यक मात्रामा सवारी साधन नपाइने समस्या रहेको छ’, कोषाध्यक्ष खनालले भने, ‘कोही बिरामी भएर अप्ठ्यारोमा परेका बेला स्वास्थ्य संस्थासम्म पुर्‍याउनका लागि एम्बुलेन्स सेवाको शुरुवात गरेका हौं ।’

एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै गल्याङ नगरपालिकाका- ११, ९, ३ तथा पाल्पाको रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका केही वडाका बिरामीलाई सहज भएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट एम्बुलेन्स खरिद गरिएसँगै अब यसको सञ्चालनका लागि आवश्यक कोष स्थापना गर्ने तयारी भएको छ ।

एम्बुलेन्स सञ्चालन तथा मर्मतका लागि स्थानीय पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने कोष वृद्धिका लागि एक घर–एक सदस्य बनाउने अभियान पनि अगाडि सारिएको कोषाध्यक्ष खनालले बताए ।

‘एम्बुलेन्स सेवाको शुरुवातसँगै विशेषगरी गर्भवती महिलालाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्नसमेत सहज हुने आसाका सञ्चार भएको संयोजक टीकाराम अधिकारीले बताए ।

गाउँ गाउँमा आवश्यक परेका बेला सवारी साधन पाउन समस्या हुने र भाडा पनि धेरै हुने भएकाले सहुलियत दरमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको उनको भनाइ छ ।

गल्याङ नगरपालिकाअन्तर्गतको गल्याङ नगर अस्पतालसँग समन्वय र सम्झौता गरी अस्पतालको दररेटअनुसार सेवा दिइने उनले बताए । एम्बुलेन्स सेवाको शुरुआत गरेसँगै गाउँका नागरिकले सहज, सरल सस्तो भाडादरमा सेवा प्राप्त गर्न पाउने भएपछि खुशी भएका छन् ।

  • रासस
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =