गण्डकी प्रदेश : कांग्रेसले थप्यो तीन मन्त्री

पोखरा । गण्डकी प्रदेशमा कांग्रेसले पनि आफ्नो कोटाका तीन मन्त्री थपेको छ । स्याङ्जाका मेखलाल श्रेष्ठ, बागलुङका मणिभद्र शर्मा र तनहुँका डोबाटे विश्वकर्मा मन्त्री बन्न लागेका हुन् । उनीहरुले कुन कुन मन्त्रालय पाउने भन्नेबारे भने टुङ्गो लागिसकेको छैन ।

श्रोतकाअनुसार शर्मालाई सामाजिक विकास मन्त्रालय दिइनेछ भने श्रेष्ठ र विश्वकर्माले क्रमशः पर्यटन र प्रदेश सभा मामिलामन्त्रीको जिम्मेवारीमा पाउँदैछन् । तर शपथसम्म जिम्मेवारी हेरफेर हुनसक्ने बताइएको छ ।

माओवादीले पनि तीन मन्त्रीको नाम हिजै मुख्यमन्त्रीलाई बुझाइसकेको छ । दलका उपनेता रामजी बरालको नेतृत्वमा सरकारमा सहभागी भएको माओवादीले बराललाई अर्थमन्त्री बनाएको छ । स्याङ्जाका दीपक चर्ती वन मन्त्री र बागलुङका चन्द्रबहादुर बुढा कृषि मन्त्री बनेका छन् ।

योसँगै ११ मन्त्रालय रहेको यो प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । यसअघि जसपालाई दुई मन्त्री दिने भनिएपनि अहिले सहमति तोडेर कांग्रेसले ५ मन्त्रालय लिएको छ । जसपाका हरिशरण आचार्य ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बनेका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुनेछ । माओवादीबाट मधुमाया अधिकारी यसअघि नै मन्त्री बनिसकेकी छिन् । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी हुन् भने कांग्रेसका कुमार खड्का सामाजिक विकास मन्त्री बनेका छन् । तर उनको कार्य जिम्मेवारी हेरफेर हुने भएको छ । उनी भौतिक विकास मन्त्री बन्न लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *