सरकारी निवासमा नराख्ने निर्णयपछि कांग्रेस शीर्ष नेताको बैठक बुढानिलकण्ठमा

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ । महाधिवेशनको कार्यतालिका हेरफेर, क्रियाशील सदस्यता विवाद समाधान र निर्वाचन निर्देशिकाबारे छलफल गर्न बैठक अहिले केहीबेरमा बस्न लागेको हो ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित आफ्नो निजी निवासमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।
देउवा प्रधानमन्त्री भएपछि गत बिहीबार कांग्रेसको बैठक पनि सरकारी निवास बालुवाटारमा बसेको थियो । तर, त्यसको सर्वत्र आलोचना भएपछि देउवाले पार्टीको बैठक सरकारी निवासमा नगर्ने निर्णय लिएका छन् । त्यसैअनुसार आजको बैठक बुढानिलकण्ठस्थित सभापतिको निवासमा बोलाइएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
कांग्रेसको केन्द्रीय कार्यालय भने क्रियाशील सदस्यताको विवादलाई लिएर धर्ना र अनशन बसेका कार्यकर्ताले भरिएको छ । त्यहाँ जाँदा कार्यकर्ताले घेराबन्दी गर्ने भएपछि देउवाले पार्टीको बैठक आफ्नै निवासमा बोलाएका हुन् ।
बैठकले महाधिवेशनको कार्यतालिका हेरफेरबारे निर्णय गर्न सक्ने एक नेताले बताए । ‘क्रियाशील सदस्यताको विवाद समाधानबारे छलफल हुन्छ । निर्वाचन निर्देशिका पनि पारित गर्नुपर्नेछ । सहमति भए आजै महाधिवेशनको कार्यतालिका पनि हेरफेर हुनसक्छ,’ ती नेताले भने ।
कांग्रेसको वडा तहको अधिवेशन १२ साउनमा हुने कार्यतालिका छ । तर, त्यसको तयारी भएको छैन । वडा तहको अधिवेशन सार्नैपर्ने अवस्था आइसक्दा पनि नेताहरु केन्द्रीय महाधिवेशनको मिति सार्न नहुने पक्षमा छन् । त्यसैले तल्ला तहको अधिवेशनको मिति हेरफेर गरेर केन्द्रको महाधिवेशनको मिति कायमै राख्ने तयारी रहेको ती नेताले बताए ।








