ट्राफिक व्यवस्थापनमा यती एअरलाइन्सको सहयोग

काठमाडौं । वायुसेवा संस्था यती एयरलाइन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानद्वार (गोल्डेन गेट) चक्रपथ रोडमा ट्राफिक लाईट जडान गरेको छ ।
यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्धारमा तीनवटा अत्यधुनिक ट्राफिक बत्ती जडान गरेको जनाएको छ ।
उक्त ट्राफिक बत्तीकोयती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त उद्घाटन गरेका हुन ।
सो अवसरमा एयरलाइन्सका सिईओ रिमालले ट्राफिक संकेत बत्ती कन्ट्रोल स्वीचको साँचो महानगरीय ट्राफिक महाशाखा प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरीले यती एयरलाइन्सलाई धन्यवाद ज्ञापन गर्दै शहरलाई सभ्य र अनुशासित बनाउने भएकाले विभिन्न संघसंस्थाको सहकार्यमा उपत्यकाका विभिन्न चोकहरुमा ट्राफिक बत्ती जडान कार्यलाई प्राथमिकता दिएको बताए ।
ट्राफिक बत्तीले ट्राफिक व्यवस्थापनमा सहजता ल्याई चालकलाई सभ्य र अनुशासन सिकाउने अपेक्षा लिएको उनको भनाइ छ ।
यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार बिगतमा यस क्षेत्रमा हुने लामो ट्राफिक जामका कारण हवाई यात्रुहरु समयमै विमानस्थल पुग्न कठिनाई हुने गरेकाले महानगरीय ट्राफिक महाशाखासँगको सहकार्यमा यो ट्राफिक लाइट जडान गरेको बताए ।
उनले यस ट्राफिक संकेत बत्तीले गर्दा यस क्षेत्रको ट्राफिक व्यवस्थाापनमा सहज भई वायुयानमार्फत् यात्रा गर्ने यात्रुहरुलाई समयमै विमानस्थल आवतजावत गर्न सहज हुने जानकारी दिए ।








