इस्लामपुर बस्तीको कल्भर्ट निर्माण एसएसबीले राेक्यो

विराटनगर । भारतीय सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा निर्माण हुँदै गरेको नाला निर्माणको काममा अवरोध गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१७ स्थित इस्लामपुरमा नेपाली भूमिमा बन्दै गरेको नाला निर्माणमा अवरोध गरेको हो ।

विराटनगरको डुबान कम गर्नको विराटनगर १७ इस्लामपुरमा नाली निर्माणका काम सुरु भएको थियो । निर्माण सुरु भएसँगैै एसएसबीले निर्माणको कामलाई रोकेको हो । भारतीय बजार जोगबनीबाट बगेर आएको पानी जगलमग्न भएर इस्लामपुर क्षेत्र डुबानमा पर्ने गरेको थियो । भारत विहार राज्यको अररिया जिल्लाको जोगबनी बजारसँग सीमा जोडिएको इस्लामपुरमा नेपाली भूमिभित्रै पानी निकास गराउन निर्माण भइरहेको पक्की नाला निर्माणमा भारतीय सीमा सुरक्षा बललको धम्कीका कारण रोक लगाएको वडाअध्यक्ष समीर कमरले मकालुखबरलाई जानकारी दिए ।

वडा अध्यक्ष कमरका अनुसार इस्लामपुरमा नाली निर्माणको काम दुई महिना अघिदेखि नै सुरु भएको थियो । कल्भर्ट बनाउने बेला भारतीय सुरक्षा बल एसएसबीले रोकेका हुन् । ‘नेपालतर्फ निर्माण हुँदै गरेको कल्भर्ट भने सीमा क्षेत्र दशगजाबाट करिब ५ मिटर उत्तर तर्फ नै रहेको छ,’ वडा अध्यक्ष कमरले भने, ‘त्यही ठाँउको नजिकै भारतले दशगजामा नै ३ वटा कल्भर्ट बनाएको छ, तर हामीलाई हाम्रो नेपाली भुमीमा पनि काम गर्न दिएन ।’

नेपाली पक्ष काम गर्न खोज्दा भारतीय पक्षले रोक्दै आएको बारेमा प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइएको भएपनि समस्याको समाधान हुन नसकेको वडा अध्यक्ष कमरले बताए । एसएसबीले खनेको दिनदेखि नै रोकेका थिए तर स्थानीयले कल्भर्टको बेश ढलान गरेपनि अरु काम गर्नै दिएनन् । इस्लामपुर भारतीय जोगवनीको पानी आएर डुबान हुने ठाउँ हो । यहाँको पानी निकासको लागि ग्राभेल, नाला, वाल र कल्भर्ट निर्माणका लागि १६ लाखमा स्थानीय तहले छुट्याएर काम थालेपनि सकिने ठाउँमा अवरोध भएको हो ।

एक सय बढी घरपरिवार बसोवास गर्दै आएको इस्लामपुर दशगजासँगै जोडिएको बस्ती हो । यो बस्तीलाई डुबान हुन नदिनको लागि स्थानीय तहले काम गर्दै गरेको अवस्थामा एसएसबीले नेपाल तर्फको पानी दशदगजामा नफाल्न दबाब दिँदै त्यसको कारण भारतको बस्ती डुवानमा पर्ने भन्दै रोकेको स्थानीय बताउँछन् ।

नेपाली भूमिभित्रै नाला निर्माणमा भारतीयले रोक लगाएको बारेमा जानकारी आएपनि आफू स्थलगत निरीक्षणमा गएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । ‘भारतीय सुरक्षा बलले नेपाल तर्फको पानी दशगजामा नपठाउन भनेका छन् यो बारेमा दुबै तर्फका सुरक्षा अधिकारी बसेर छलफल हुन्छ,’ उनले मकालुखबरसँग भने, ‘भारतीयहरुसँग वार्ता गरेर निर्माण कार्य सूचारु गराउन पहल भईरहेको छ ।’ चाँडै समस्याको समाधानको लागि पहल भईरहेको उनले बताए । दश दिन बितिसक्दा पनि भारतीयसँग कुनै वार्ता नहुँदा निर्माण कार्य ठप्प भएछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *