मदन भण्डारी विश्वविद्यालयको डीपीआर ‘ग्लोबल बोलपत्र’मार्फत

काठमाडौं । पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)नै अन्तर्राष्ट्रिय बिडिङ् (‘ग्लोबल बोलपत्र) मार्फत हुने भएको छ । यसका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ ।

विश्वविद्यालयका लागि सरकारले बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । गत आर्थिक वर्षमा विनियोजित एक अर्ब २० करोड रुपैयाँबाट पाँचखालमा निर्माण गरिने विश्वविद्यालयको डीपीआर तथा चित्लाङमा निर्माण शुरु गरिएको पूर्वाधार निर्माण कार्य भइरहेको छ । विश्वविद्यालयका लागि चालू आर्थिक वर्षमा एक अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो बजेटको करिब दश प्रतिशत चित्लाङमा निर्माण हुने विश्वविद्यालयको एउटा इञ्जिनीयरिङको शाखासमेतको हो । विश्वविद्यालय पूर्वाधार निर्माण समितिका अनुसार निर्माण गरिने विश्वविद्यालयको डीपीआरका लागि ग्लोबल बोलपत्रमा लगिएको छ । डीपीआरको लागत ठेकेदार कम्पनी आफैंले समितिसँग प्रस्ताव गर्नुपर्ने जनाइएको छ ।

विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको भएकाले डीपीआर नै ग्लोबल बोलपत्रमार्फत् गर्न लागिएको सांसद गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार दश हजार रोपनीभन्दा बढी जमीनमा बहुवर्षीय योजनाअनुरुप निर्माण हुन लागेको विश्वविद्यालयको भौतिक संरचनासमेत अन्तर्राष्ट्रियस्तरको हुनेछ ।

परियोजना सम्पन्न गर्न ४३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विश्वविद्यालय निर्माणका लागि आवश्यक जमीनमध्ये पाँचखालसहित नमोबुद्ध नगरको केही वडा समेटिएको छ । विश्वविद्यालयका लागि आवश्यक देखिएको करिब दश हजार ३०० रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं वडाको दश हजार ३०० रोपनी सार्वजनिक जमीन हालै विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण)को नामसारी भइसकेको हो ।

उक्त जमीनमा शिक्षण, मेडिकल कलेज र अस्पतालका आवश्यकीय भवन, सडक, खानेपानी, शिक्षक-विद्यार्थीका होस्टेल, हेलिप्याड, खेल मैदानलगायत संरचना निर्माण गर्ने योजना बनाइएको छ ।

तत्कालीन मन्त्रिपरिषद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठित विश्वविद्यालय पूर्वाधार तयारी समितिले विश्वविद्यालय निर्माणको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिएको छ ।

-रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *