एमाले केन्द्रीय कमिटी बैठक आज, निर्देशन नमान्नेलाई कारबाही होला ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

बैठक मूलतः पार्टीको विधान महाधिवेशनका विषयमा केन्द्रित हुने भएपनि आइतबार प्रतिनिधि सभामा पार्टीको निर्देशनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदका विषयमा पनि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेका ३२ सांसदले देउवाको विपक्षमा मत हालेका थिएनन् ।

तीमध्ये २२ जनाले देउवालाई विश्वासका मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए । विश्वासको मत दिने र तटस्थ बसेकाहरुलाई एकैखाले व्यवहार नहुने तामाङको भनाइ छ । सोमबारको स्थायी कमिटी बैठकले देउवाको पक्षमा मत दिनेहरु एमालेमा नरहने निर्णय गरेको थियो ।

तर, संविधानको धारा ७६ (५) को सरकारलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने र त्यसैआधारमा कारबाही गर्न नपाइने सर्वोच्च अदालतले फैसला सुनाएकाले उनीहरुलाई अरु नै कारण देखाएर कारबाही गर्ने तयारी एमालेको छ । ‘विश्वासको मत दिए/नदिएको विषयमा कारबाही नहोला तर अन्य विषयमा कारबाही हुन्छ,’ तामाङले भने, ‘आज प्रक्रिया पुर्‍याएर अगाडि बढ्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =