त्रिविद्वारा विद्यार्थीहरूको ‘ग्रेस लिस्ट’ पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६२औं वार्षिक दिवस बैठक ५९औं ग्रेस लिस्ट पारित गरी सम्पन्न भएको छ ।

वार्षिक दिवसका अवसरमा कोरोना भाइरस (कोभिड-१९ )का कारण आइतबार विद्युतीय माध्यम (अनलाइन)बाट सम्पन्न बैठकले २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म तोकिएका सम्पूर्ण आवश्यकता पूरा गरी ट्रान्सक्रिप्टसमेत लिइसकेका विद्यार्थीहरुलाई ग्रेसलिस्टमा समावेश गरिएको छ ।

ग्रेस लिस्टमा सहभागी चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत १ हजार ३ सय ४०, इन्जियरिङ्ग अध्ययन संस्थानअन्तर्गत ८ सय २६, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत २ हजार ९ सय ७४, कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तर्गत ४ सय ६२, वन‚ विज्ञान अध्ययन संस्थानअन्तर्गत २ सय ७९ व्यवस्थापन संकाय अन्तर्गत ८ हजार ३ सय ४३, शिक्षाशास्त्र संकाय अन्तर्गत ७ हजार १ सय १८, मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत ७ हजार ५ सय ७ र कानुन संकायअन्तर्गत ८ सय ८० गरी जम्मा २९ हजार ७ सय २९ जना विद्यार्थीहरू आगामी दीक्षान्त समारोहमा समावेश हुन योग्य भएको विश्वविद्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सभाको अध्यक्षता गर्ने अख्तियारी उपकुलपति धर्मकान्त बास्कोटालाई सुम्पिई शुभकामना सन्देशमार्फत् नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास निर्माण गर्न सफल भएकोमा त्रिभुवन विश्वविद्यालयलाई शुभकामना व्यक्त गरेका थिए ।

उनले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को दोस्रो लहरका कारण व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवन अस्तव्यस्त रहँदा पनि त्रिविले वैकल्पिक विधिको प्रयोग गरी आफ्नो शैक्षिक, प्रशासनिक तथा अनुसन्धानसम्बन्धी गतिविधीलाई निरन्तरता दिएकोमा आफू हर्षित रहेको धारणा सन्देशपत्रमार्फत् व्यक्त गरेका छन् ।

कठिन परिस्थितिमा पठनपाठन र परीक्षाका नयाँ विकल्पको प्रयोगबाट उच्च शिक्षामा दक्ष जनशक्ति उत्पादन र आपूर्तिको कार्यमा नेतृत्वदायी भूमिका वहन गरेकोमा उच्च प्रशंसा गर्दै आगामी दीक्षान्त समारोहमा दीक्षित हुन योग्यता पुगेका सम्पूर्ण विद्यार्थीहरुलाई बधाईसमेत दिएका थिए ।

No description available.

त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवम् ६२ औं वार्षिक दिवस बैठकका अध्यक्ष प्रा.डा. धर्मकान्त बास्कोटाले कोभिड-१९ को महामारीको जटिल परिस्थितिका बावजुद एसियाली विश्वविद्यालयहरुमा गतवर्षको तुलनामा १०० औं स्थानमाथि स्तरोन्नति प्राप्त गर्न सफल भएको, विश्वविद्यालयलाई प्रविधीमैत्री बनाउने अभियानमा सूचना प्रविधि र विद्युतीय कक्षाहरूमा उल्लेखनीय उपलब्धी हासिल गरिएको, पाठ्यक्रम विकास केन्द्र,परीक्षा नियन्त्रण कार्यालय र डीन कार्यालयहरुमा अनलाइन माध्यामबाट आवेदन बुझाउने व्यवस्था गरिएको बताए ।

त्यस्तै विश्वविद्यालयको वेवसाइटलाई परिमार्जन गरी विश्वविद्यालय मातहतका सबै निकायहरुको वेबसाइटमा एकरुपता ल्याउन इन्जियिरिङ्ग अध्ययन संस्थानमार्फत् काम प्रारम्भ गरिसकिएको, नयाँ नियुक्ति पाएका शिक्षकहरुलाई सेवा प्रवेश तथा शिक्षण विधिको तालिम दिन शुरुवात गरिएको र झण्डै ६ हजार शिक्षकहरुलाई प्रविधीमैत्री तथा अनुसन्धानमुखी तालिम दिइसकेको तथा कर्मचारीहरुका लागि सेवाकालीन तालिमको व्यवस्था गरिएको जानकारी दिए ।

उनले केन्द्रीय पुस्तकालयलाई विद्युतीकरण गर्दै विश्वविद्यालयका सम्पूर्ण शैक्षिक सामग्री अनलाइन डाटाबेसमार्फत पाठकसमक्ष पुर्‍याइएको र केन्द्रीय पुस्तकालयमा बौद्धिक चोरी पत्ता लगाउने विद्युतीय उपकरण जडान गरी बौद्धिक चोरीलाई न्यूनीकरण गर्ने अभियान शुरु गरिएको बताए ।

वार्षिक दिवस बैठकमा ५९ औं ग्रेसलिस्टको संक्षिप्त विवरण प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा पेशल दाहालले ग्रेसलिस्टमा सहभागी २९ हजार ७ सय २९ मध्ये साधारणतर्फ २३ हजार ८ सय ४८ (८०.२२ प्रतिशत) र प्राविधिक शिक्षातर्फ ५ हजार ८ सय ८१ (१९.७८ प्रतिशत ) विद्यार्थी रहेको जानकारी दिए । उनले कोरोना भाइरसले उब्जाएको विषम परिस्थितिका कारण समयमा परीक्षा हुन नसक्दा र ट्रान्सक्रिप्ट लिन नसक्दा धेरै विद्यार्थीहरुको नाम ग्रेसलिस्टमा पर्न नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *