देउवाले विश्वासको मत पाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने भएका छन् । एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भएसँगै प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने भएका हुन् । अहिले नेपाल पक्षको बैठक कोटेश्वरमा बसिरहेको छ ।  बैठकस्थलबाट सांसद विरोध खतिवडाले मकालुखबरसँग भने— ‘हामीले यसअघि नै विश्वासको मत दिनेगरी निर्णय गरिसकेका हौँ । सर्वोच्च अदालतले पनि ह्वीप नलाग्ने भनेको छ । हामी विश्वासको मत दिन्छौँ ।’

नेपाल पक्षका शीर्ष नेताहरु  भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताहरुबीच विश्वासको मत दिने कि नदिने भन्नेबारे छलफल भएको छ । बैठकमा देउवालाई मत दिने नै भन्ने निर्णय गर्ने कि नगर्ने सांसदलाई स्वबिबेकमा छा्ड्ने कि भन्नेबारे भाषा कस्तो राख्ने भन्नेबारे छलफल भएको थियो । छलफलमा रहेका एक नेताले भने— ‘सबैलाई दिउँ भनिंदैन । बाध्य पनि पारिँदैन । तर, मत दिइन्छ ।’

नेता रघु जी पन्तले भने देउवालाई मत दिनेबारे निर्णय नै नगरौं भन्ने प्रस्ताब गरेको ती नेताले जानकारी दिए । तर धेरैजसो नेताले मत दिनुपर्ने धारणा राखेकाले  भाषा मिलाउने विषयमा गृहकार्य भइरहेको ती नेताले जानकारी दिए ।

यसअघि नेपाल पक्षका २६ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए । तर, पछि प्रतिनिधि सभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने नेपाल पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।

सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभामार्फत विश्वासको मत लिँदैछन् । गत असार २८ को फैसलाअनुसार यसपटक दलीय ह्वीप नलाग्ने भएकाले जुनसुकै पार्टीका सांसदले पनि विश्वासको मत दिन सक्नेछन् ।

पछिल्लो समीकरण अनुसार नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, राष्ट्रिय जनमोर्चाका १ र जसपाको उपेन्द्र यादव पक्षका  १७ जना सांसद प्रधानमन्त्री देउवाको पक्षमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =