उज्वल थापाको उपचार गरी बचेको ४२ लाख सात संस्थालाई

काठमाडौँ । विवेकशील साझा पार्टीका दिवंगत नेता उज्वल थापाको उपचार गरी बचेको रकम विभिन्न संस्थालाई वितरण गरिएको छ । उनको परिवारले एक कार्यक्रम गरी उक्त रकम सात वटा सामाजिक संस्थालाई दिइएको हो ।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेका अनुसार थापाको उपचारका लागि कुल २ हजार ८ सय व्यक्तिले रकम सहयोग गरेका थिए । जसमा सबैभन्दा कम सहयोग १० रुपैयाँ र बढी १ लाख १० हजार ३४५ रुपैयाँ एकै व्यक्तिबाट प्राप्त भएको पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिए । थापाको उपचारका लागि सुभेच्छुकहरुबाट कुल ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा सहयोग संकलन भएको थियो ।
जसमध्ये थापाको उपचारमा २५ लाख ३१ हजार २८३ रुपैयाँ ६२ पैसा खर्च भएको छ भने बैंक तथा रकम स्थानान्तरणमा १ लाख १० हजार ९३४ रुपैयाँ १६ पैसा खर्च भएको छ । उपचारपछि बाँकी रहेको रकम ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा विभिन्न परोपकारी संस्थाहरुलाई बाँडिएको हो । बाँकी रहेको रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भवप्रायः देखिएकाले आपसी सल्लाहमा कोभिड महामारीमा काम गरिरहेका संस्थाहरुलाई सहयोग गरिएको पाण्डेले उल्लेख गरेका छन् ।
त्यसका लागि ४१ वटा संस्थाको सूचना बनाएको भएपनि काम हेरेर सात वटालाई दिइएको हो । त्यसअनुसार राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँलाई १५ लाख, ओडा फाउन्डेसन, कालीकोटलाई १० लाख, सानो पाइला, वीरगञ्जलाई ६ लाख, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौंलाई ५ लाख रुपैयाँ दिइएको छ । यस्तै भोरे नेपाल, सर्लाहीलाई २ लाख ५० हजार, मधेश ह्युमन राइट्स होम, कपिलवस्तुलाई २ लाख दुई हजार २०१ रुपैयाँ ७२ पैसा र हार्टबिट, काठमाडौंलाई २ लाख दिइएको छ ।
गत जेठ १८ गते थापाको उपचारको क्रममा निधन भएको थियो । थापालाई कोरोना र निमोनिया देखिएको थियो ।








