वृद्धभत्ता

एउटी बुढी आमै
जो वृद्धभत्तामा जीवन बाँचिरहेकी छिन्
सरकार ढलेको खबर सुनेर
भक्कानिएर रुन्छिन् ।

उनी बुझ्दिनन् राजनीति
र, बुझ्दिनन् सत्ताको खेल पनि
बुझ्छिन् त केवल
लोग्ने मरेपछि
छोरी पोइल गएपछि
छोरा मुग्लान पसेपछि
गुजाराको सहारा बनेको
एक मात्र मासिक वृद्धभत्ता
र ठान्छिन् यस्तो पनि
सरकारले आफ्नै खल्तीबाट
खुरुखुरु हालिदिन्छ आमैको थैलीमा
र सोच्छिन् सरकार ढलेपछि
कसले दिन्छ योवृद्धभत्ता ?

थाह छैन आमैलाई
वृद्धभत्ताभन्दा सत्ताको भत्ता
लाखौ गुणा बढी हुन्छ भनेर
अनि त रुन्छन् नेताहरु
आमै जस्तै भत्ताको लागि
र ढाल्छन् आमैको प्यारो सरकार

सरकारले पनि भत्ता खान्छ
र यो भत्ता अकुत हुन्छ भन्ने थाह पाए
आमै रुन्थिन् कि रिसाउथिन् ?

–विश्वरसिंह मेवाहाङ, संखुवासभा

प्रतिक्रिया

One thought on “वृद्धभत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *