प्रदेश २ : भरतको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुँदै

जननकपुरधाम । लामो छलफलपछि प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ । सुरुमा दुईवटा मन्त्रालय पाउनुपर्ने अडान लिएर बसेका माओवादी केन्द्रले अन्ततः एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो ।

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गोसमेत लगाएको छ । संसदीय दलका नेता भरत साहको नेतृत्वमा रुबी कर्णसहित एक मन्त्री र एक राज्यमन्त्रीले शनिबार दिउँसो मन्त्रीको शपथ लिन लागेका हुन् । उनीहरुलाई दिउँसो ३ बजे प्रदेश प्रमुख राजेश अहिराजले शपथ ग्रहण गराउने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

साह महोत्तरीबाट निर्वाचित सांसद हुन भने कर्ण सप्तरीकबाट समानुपातिक सांसद हुन् । माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो भने लाग्न सकेको छैन् । स्रोतका अनुसार माओवादीलाई आन्तरिक मामिला तथा कानुवा वा सामाजिक विकास मन्त्रालयमध्ये एक दिने तयारी भईरहेको छ । हाल यी दुवै मन्त्रालय जसपा उपेन्द्र यादव समूहको भागमा छ ।

उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई काँग्रेसलाई तीन मन्त्रालयसहित २६ जेठमा सरकारमा सहभागी गराईसकेको छ । माओवादी केन्द्रलाई समेत त्यही बेला सरकारमा ल्याउने प्रयास गरिए पनि मन्त्रालय टुंगो नलाग्दा त्यस बेला माओवादी सरकारमा सहभागि भएको थिएन ।

सुरुमा माओवादी केन्द्र्रले दुई मन्त्रालय र दुई राज्यमन्त्री दिनुपर्ने अडान राखेपनि पछिल्लो समय शक्तिशाली मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको माओवादी निकट स्रोतले बताए । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा काँग्रेस र माओवादीलाई सहभागि गराउन ६ मन्त्रालयलाई टुक्र्याएर १० मन्त्रालय बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *