नेपाल टेलिकमको समर अफरमा थप सुविधा

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेजसहितको अफरलाई परिमार्जन गरी समर अफरअन्तर्गत थप सुविधा उपलब्ध गराएको छ ।

कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको टेलिकमले जनाएको छ ।

नयाँ सुविधाअन्तर्गत अब प्रतिदिन ५५ रुपैयाँमा २ जीबी डाटा प्रयोग गर्न सकिनेछ । त्यसैगरी लकडाउन अफरको रुपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म ३९ रुपैयाँमा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिइएको छ । लकडाउन अफरअन्तर्गतको ‘बोनस अन रिचार्ज’ अफरलाई भने हटाइएको छ ।

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको भीओएलटीई सेवा प्रयोग गर्न चाहने ग्राहकलाई एक पटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत राखिएको छ । उक्त सुविधा २८ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

कम्पनीले उपलब्ध गराइरहेको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफरलाई पनि थप आकर्षक बनाइएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको प्रिपेडतर्फ २०० र पोस्टपेडतर्फ ५०० रुपैयाँको प्याकेजमा उपलब्ध हुने डाटा भोल्युम थप गरिएको छ ।

अब प्रिपेडमा २०० रुपैयाँको प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने १ जीबी डाटासमेत उपलब्ध हुनेछ ।

त्यसैगरी सीयूजी ५०० पोस्टपेडअन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने ५ जीबी डाटासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।

सीडीएमएबाट जीएसएममा रुपान्तरण हुने ग्राहकका लागि सुविधा

नेपाल टेलिकमले हाल प्रयोगमा रहेका सीडीएमए सेवाका प्रयोगकर्ताहरुलाई जीएसएम नेटवर्कमा रुपान्तरण गर्ने योजनाअन्तर्गत सीडीएमए प्रिपेड र सीडीएमए पोस्टपेड प्रयोगकर्ताका लागि निःशुल्क सिमका साथै निःशुल्क भ्वाइस, निःशुल्क डाटा प्याकेज र निःशुल्क एसएमएस सुविधा उपलब्ध गराउने भएको छ ।

निःशुल्क एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि सीडीएमए प्रयोगकर्ताले नजिकको नेपाल टेलिकमको कार्यालयमा गएर आफ्नो पुरानो रिमकार्ड बुझाउनुपर्ने टेलिकमले जनाएको छ ।

सीडीएमए मोबाइल (पोस्टपेड र प्रिपेड) का लागि नयाँ जिएसएम (पोस्टपेड र प्रिपेड) नम्बर उपलब्ध गराइनेछ । यसैगरी सीडीएमए फिक्स्ड (पोस्टपेड र प्रिपेड) का लागि नयाँ जीएसएम पोस्टपेड नम्बर उपलब्ध गराइने जनाएको छ ।

सीडीएमए प्रिपेडबाट जिएसएम प्रिपेडमा रुपान्तरण भएका मोबाइल ग्राहकहरुले ६ महिनासम्म निःशुल्क रुपमा मासिक ३०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० वटा अन नेट एसएमएस पठाउन सक्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *