न्यूनतम पारिश्रमिक लागु गर्ने रोजगारदाता संस्थाहरुको सहमति

काठमाडौं । विभिन्न रोजगारदाताहरुका संस्थाले सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागु गरी जाने सहमती गरेका छन् । सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रकृयाप्रति असहमती भए पनि कामदार र श्रमिकको हितका लागि सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागु गरी जाने सहमति भएको ती संस्थाहरुले जनाएका छन् ।

श्रमिकहरुको न्यूनतम पारिश्रमिकका सम्बन्धमा चिया वगानका मजदुरबाहेक उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि २०७८ साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम तलब र महंगीभत्ता समेत गरी न्यूनतम पारिश्रमिक १५ हजार रूपैयाँ निर्धारण गरी सरकारले राजपत्रमा सूचना समेत प्रकाशन गरिसकेको छ ।

रोजगारदाता संस्थाहरुले न्यूनतम पारिश्रमिक सम्बन्धमा मजदुरहरुका छाता संगठन ट्रेड युनियन, नीजि क्षेत्रका छाता संस्था, रोजगारदाता र सरकार समेतको त्रिपक्षीय सहमतीमा न्यूनतम पारिश्रमिक निर्धारण गरी लागु गर्ने परम्परा रहेकोमा सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रकृयाप्रति असहमती प्रकट गर्दै आएका थिए ।

संयुक्त ट्रेड युनियन समन्वय समितिका महासचिव सहितका प्रमुख ट्रेड युनियनका प्रतिनिधिहरु र नेपाल घरेलु तथा साना उद्योग महासंघ, राष्ट्रिय उद्योग व्यापार महासंघ, साना तथा मझौला व्यवसाय महासंघ समेतको उपस्थितिमा भएको बैठकमा यस्तो सहमतिमा पुगेको नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताए ।

सहमति पत्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव रेग्मी, साना तथा मझौला व्यवसायी महासंघ, नेपालका अध्यक्ष बाबुकाजी महर्जन र राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव कमल बरालले हस्ताक्षर गरेका छन् ।

कोरोनाको महामारी र विविध कारणले उत्पन्न चरम महंगीको अवस्थामा उद्योग व्यवसायका खम्बाका रूपमा रहेका श्रमिकको जिविकाप्रति रोजगारदाता सम्वेदनशील भएपछि उक्त सहमतिमा पुगेको महासंघका महासचिव रेग्मीले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *