वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ प्रतिशतले घट्यो

काठमाडौं । वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५९.९ प्रतिशतले कमी आएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि जेठसम्म वैदेशिक रोजगारीका लागि व्यक्तिगत तथा संस्थागत रुपमा नयाँ श्रम स्वीकृति लिने तथा तथा नविकरण गर्ने नेपालीको संख्यामा भारी गिरावट आएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्यामा १२.४ प्रतिशतले गिरावट आएको थियो ।

२०७७/७८ को ११ महिनामा वैदेशिक रोजगारीमा जान ७७ हजार ७ सय ९९ जनाले अन्तिम श्रम स्वीकृति लिए । तर, अघिल्लो आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा यस्तो स्वीकृति लिनेको संख्या १ लाख ९३ हजार ८ सय ८० थियो । त्यसभन्दा अघिल्लो वर्ष सोही अवधिमा यस्तो स्वीकृति लिनेको संख्या २ लाख २१ हजार ४ सय ३१ थियो ।

उक्त अवधिमा नेपालीका लागि रोजगारीका प्रमुख २० गन्तव्य मुलक मध्ये सबैभन्दा बढी ९९.६ प्रतिशतले दक्षिण कोरिया जान अन्तिम श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा उक्त देशमा जान श्रम स्वीकृति लिनेको संख्या ४७ प्रतिशतले कमी आएको थियो ।

खास गरी दक्षिण कोरियाको सरकारी नियका र नेपाल सरकारको सम्बन्धित निकायबीच रोजगार अनुमति प्रणाली (ईपीएस) कायम रहेकोले उक्त प्रणाली अनुसार नै रोजगारीमा जान पाउने व्यवस्था भएका कारण उक्त संख्यामा कमी आएको हो । कोभिडका कारण दक्षिण कोरियाको रोजगारीका लागि इपीएस भाषा परीक्षा उत्तीर्ण गरेकाहरुले समेत श्रम स्वीकृति पाउन सकेका छैनन् ।

त्यस्तै, नेपालीहरुको प्रमुख गन्तव्य मानिएको र ७ लाखभन्दा बढी नेपाली रहेको अनुमान गरिएको मलेसियाको रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ९२.७ प्रतिशतले कमी आएको छ । कुवेतको रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ८८.७ प्रतिशत, माल्टाका लागि ८९.९ प्रतिशत, इजरायल ७१.४, यूएई ६७.३, लेबनान ६०, जोर्डन ५०, जापान ४१, साउदी अरब ४०, कतार ३७, साइप्रस ३५, टर्की ३३, ओमान १७, अफगानिस्तान १६, माल्दिभ्स १५ प्रतिशतले कमी आएको छ । त्यस्तै, बहराइन १०, रोमानियाको रोजगारीमा लागि श्रम स्वीकृति लिनेको संख्या ४ प्रतिशतले कमी आएको छ ।

तर, यही अवधिमा युरोपेली देश पोल्याण्ड जान अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने १२७ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समेत उक्त अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण राजगारदाता देश, कम्पनी तथा व्यक्ति प्रभावित भएको, उत्पादनमा कटौती भएको, उद्योग व्यवसाय तथा आर्थिक गतिविधिमा विश्वव्यापी मन्दी छाएको, हवाई सेवा बन्द भएकोलगायत कारणले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा समेत कमी आएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *