कीर्ते हस्ताक्षर लिएर नागरिकता बनाउन आएका ज्वाइँ-ससुरा पक्राउ

राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली बाबु बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका-१५, देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् ।

वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । शिवनन्दन भने भारतीय नागरिक रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ आचार्यले बताए ।

शिवनन्दन आफ्नो छोरा भएको भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाई दिन भन्दै जिल्ला प्रशासन कार्यालय आएका थिए । प्रशासकीय अधिकृतको टेबुलमा यो फाइल आएकै समयमा वडाबाट अपरिचित व्यक्तिले फोन गरेर यी दुवै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएकाले प्रशासकीय अधिकृत किशोर रामले लगत्तै प्रहरी बोलाएर दुवैजनालाई पक्राउ गर्न लगाएको प्रजिअ अचार्यको भनाइ छ । पक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन् । वास्तविकता के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *