म सबैको साझा उमेद्वार हुँ : उत्तरकुमार राई

स्पेन । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा उत्तरकुमार राईले दाबी गरेका छन् । आगामी जुलाई २६ तारिकमा हुने महाधिवेशनमा उनको अध्यक्ष पदमा दाबी छ ।
राईलाई स्पेनका अधिकांश संघ संस्थाले समर्थन गरेका छन् । अहिलेसम्म कुनै राजनितिक, क्षेत्रीय या जातीय संस्थामा नलागेर स्पेनमा स्वच्छ छवि बनाएका राईलाई सबैले साझा उमेद्वारको रुपमा समर्थन र सहयोग गर्ने बताए । एनआरएनए स्पेनको वर्तमान उपाध्यक्ष रहेका राईले एनआरएन अभियानमा आफूले अहिलेसम्म कुनै पक्षमा नलागि निश्पक्ष रुपमा समुदायको हितमा लागेकोले सबैको समर्थन रहेको तर्क गरेका छन् ।
यसअघि एनआरएनए म्याड्रिड क्षेत्रको सफल नेतृत्व गरिसकेका राईले अब पुरै एनआरएनए स्पेनको नेतृत्व गरेर समाजलाई निष्पक्षता र आदर्शको सन्देश दिने बताए । उनले एनआरएनएको नेतृत्वका लागि आफू अध्यक्ष हुनका लागि मात्रै उमेद्वारी दिएको नभै एनआरएनए र स्पेनको नेपाली समाजको बारेमा एउटा सपना र भिजन लिएर आएको जिकिर गरे ।
उनले आफ्नो प्रमुख उद्देश्य नै एनआरएनएलाई विशुद्ध सामाजिक संस्थाको रुपमा अघि बढाउने रहेको बताएका छन् । यस्तै युवा र नयाँ पुस्तालाई एनआरएन अभियानमा आकर्षित गर्ने खालका विभिन्न नयाँ योजना र कार्यक्रम आफूसँग रहेको उनले बताए । यस्तै एनआरएनएलाई दोश्रो पुस्तामा हस्तान्तरणका लागि बाटो खोल्न, नेपाली र स्पानिस समुदायबीच सम्बन्ध बढाउन, नेपालीहरुको समस्यामा एनआरएनएले मुख्य अभिभावकको भूमिका निभाउन, नेपालको पर्यटन प्रर्बद्धनका लागि नेपाल र स्पेनको बीचमा पुलको काम गर्न र धेरै अगागिदेखिको योजनाको रुपमा रहेको नेपाल हाउस बनाउन आफ्नो मुख्य ध्यान रहने उनले बताएका छन् ।
नेपालको पुर्वी धरानमा जन्मिएका राई विगत २४ वर्षदेखि स्पेनको म्याड्रिडमा बस्दै आएका छन् । राईले करिब ८ वर्षसम्म स्पानिस मजदुर संगठन (युजिटी) प्रतिस्ठान अध्यक्ष भएर नेपाली, स्पानिस र अरु विदेशी कामदारको पक्षमा समेत धेरै काम गरेका छन् ।
स्पानिस भाषा सिकाइका लागि सवै तहको अध्ययन पुरा गरिसकेका राईले यहाँको चर्चित पत्रिका एल पाइसको लागि भाषा अनुवादकको काम पनि गरेका थिए । एनआरएन अभियानसँग जोडिएर नेपाली समुदायसँगै यहाँको विभिन्न स्थानीय संघसस्था र गतिविधिमा जोडिएर मैले नेपाली समुदायको चिनारी र नेपालीको इज्जत, सम्मानका लागि पनि भुमिका खेलेको उनले बताए छन् ।
यही २६ तारिकमा हुन लागेको अधिवेशनमार्फत समाजसेवाको आफ्नो लगावलाई थप हौसला प्रदान गर्न आगामी कार्यकाल २०२१-२३ को लागि अध्यक्ष पदमा सहयोग गर्न उनले सवै स्पेनबासी नेपालीसँग आग्रह गरेका छन् । आफू व्यक्तिमा भन्दा पनि समाज र समुदायमा विश्वास गर्ने ब्यक्ति भएकोले विभिन्न बाहानामा विभाजित भएर अगाडि बढ्दा त्यसको फाइदा केही व्यक्तिलाई भएपनि त्यसको नोक्सान समुदायलाई हुने भएकोले सहि र सत्यको पक्षमा बुझेर लाग्न उनले सबैलाई आग्रह गरे ।








