सरकारको सूचनापछि त्रिवेणीले ‘कोरोना गार्ड’ नबेच्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाइको कम्पनी त्रिवेणी व्यापार कम्पनी विद्युतीय उपकरण ‘कोरोना गार्ड’को व्यापार गर्ने तयारीबाट पछि हटेको छ ।

उक्त उपकरण जडान गरिएको एक हजार स्क्वायर फिटसम्मको क्षेत्रफलमा कोरोना भाइरस निष्प्रभावी हुने भन्दै कम्पनीले बिहीबार सञ्चार माध्यमहरुमा ‘एडभोटोरियल’ (विज्ञापन) नै प्रकाशित गरेर उक्त उपकरणको आयात र व्यापार गर्ने तयारी गरेको थियो ।

उकरणको व्यापक विज्ञापन भएको थाहा पाएपछि स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कुनै पनि विद्युतीय उपकरणले कोरोना भाइसर रोक्न नसक्ने भएकाले भ्रममा नपर्न सर्वसाधारणलाई आह्वान गरेको छ । कोरोना भाइसरबाट जोगिन मास्कको प्रयोग र खोप नै उपयुक्त भएकोले भ्रामक विज्ञापनलाई विश्वास गरेर त्यस्ता उपकरण खरिद नगर्न मन्त्रालयले सूचना जारी गरेको हो ।

सूचना जारी भएपछि आफूहरु उक्त उपकरणको आयात र बिक्री वितरण नगर्ने कम्पनीका सञ्चालक संघाइले मकालुखबरसँग बताए ।

‘भारतको एक कम्पनीले उत्पादन गरेर  भारतमा निर्वाध रुपमा बिक्री वितरण र प्रयोग बढिरहेको सन्दर्भमा हामीले नेपालमा बिक्री गर्न खोजेका हौं,’ संघाइले भने, ‘त्यसैका लागि हामीले विज्ञापन गरेका थियौं । तर, स्वास्थ्य मन्त्रालयले सूचना नै निकालेकाले अब हामीले उक्त उपकरण नल्याउने र बिक्री नगर्ने निर्णय गरेका छौं ।’

कम्पनीले उक्त उपकरण प्रतिगोटा ४० हजार रुपैयाँसम्ममा नेपालमा बिक्री गर्ने तयारी गरेको थियो । तर संघाइले भने उक्त उकरणको मूल्यबारे आफूलाई जानकारी नभएको दाबी गरे ।

यस्ताे थियाे त्रिवेणी व्यापार कम्पनी प्रालिले गरेकाे विज्ञापन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *