वैदेशिक राेजगारीबाट भित्रियाे पाैने ९ खर्ब, रेमिट्यान्स १२ प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिना (जेठसम्म)मा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले बढेर ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या संस्थागत तथा व्यक्तिगत गरी ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या उक्त अवधिमा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा विदेशबाट हुने खुद रकम ट्रान्सफर ११.४ प्रतिशतले बढेर ९ खर्ब ७१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।








