रेवानद्वारा हाेटेल–रेष्टुरेन्ट व्यवसायलाई आर्थिक तथा नीतिगत सहयाेगकाे माग

काठमाडौं । रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपाल (रेबान) ले कोभिड–१९ बाट प्रभावित रेष्टुरेण्ट तथा होटल व्यावसाय सञ्चालनका लागि सहयोग गर्न सरकारसँग माग गरेको छ । रेबानले एक विज्ञप्ती जारी गर्दै सरकारसँग आर्थिक तथा नीतिगत सहयोगको मागसमेत राखेको छ ।
होटल ब्यावसायलाई सेवामूलक उद्योगको रुपमा सम्बोधन गरिएको तर उस्तै प्रकृतिको यस रेष्टुरेण्ट तथा बार व्यावसाय छुटाएकोप्रती रेवानले असन्तुष्टि जनाएको छ । आगामी मौद्रिक नीतिमार्फत रेष्टुरेण्ट तथा बार ब्यावसायलाई पनि सेवामूलक उद्योगको रुपमा सम्बोधन गर्न रेवानले माग गरेको छ ।
सहुलियतपूर्ण पुनरकर्जा समान रुपमा उपलब्ध गराउनु पर्ने कम्तिमा एक पटकको लागि बिना धितो ५० लाखसम्मको सहुलियतपूर्ण कर्जाको उपलब्ध गराउनु पर्ने, बैंकहरुबाट लिइएको ऋणको ब्याज र किस्ताको भुक्तानी अवधि व्यावसाय पूर्ण रुपमा सञ्चालन नभएसम्म कम्तीमा तीन वर्षका लागि थप्नु पर्ने माग गरेको छ ।
त्यस्तै, विदेशी पर्यटकमा निर्भर व्यावसाय सुचारु गर्न अझै अर्को वर्षसम्म पखर्नुपर्ने भन्दै रेवानले निजी आवास निर्माणको लागि लिएको ऋणको ब्याजदरलाई सहुलियत बनाउनु पर्ने र भुक्तानीको तालिका लागि पुनर्तालिकीकरण गर्नुपर्ने माग गरेको छ ।
बैंकहरुले गर्ने लगानीको निश्चित प्रतिशत रकम पर्यटन क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्ने कार्यविधि बनाउन र रेष्टुरेण्ट क्षेत्रमा आश्रित कर्मचारीको जिविकोपार्जनका लागि कम्तिमा ३ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउन माग गरेको छ ।
रेष्टुरेण्टमा पस्कने खानाको कच्चा पदार्थ पूर्ण रुपमा कृषि उपज हुने भएको र अधिकांश स्वदेशी उत्पादन नै हुने हुँदा १३ प्रतिशत कर खानाका परिकारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने, सरकारले आफ्ना कर्मचारीलाई १० दिनको आन्तरिक भ्रमणमा जानुपर्ने र त्यसको लागि अतिरिक्त तलब भत्ताको उपलब्ध गराउने भएको हुँदा देशका वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई पनि आन्तरिक भ्रमणमा पठाउने ब्यवस्था गरियोस् भन्ने माग रेबनले राखेको छ ।








