विस्थापित हुँदै पर्यटन व्यवसायी

पोखरा । कोरोना भाइरस संक्रमपछि जारी गरिएको लकडाउन र पर्यटक आगमनमा भएको ह्रासले पर्यटन व्यवसायीहरु विस्थापित हुन थालेका छन् । लामो समयसम्म लकडाउन हुँदा पनि राज्यले त्यसतर्फ कुनै पहल नगरेपछि व्यवसायी पलायनको बाटो रोज्न बाध्य भएका हुन् ।

हालसम्म २५ प्रतिशतभन्दा बढी व्यवसायी विस्थापित भएको आँकलन गरिएको छ । पर्यटनसँग सम्बद्ध संघ/संस्थाहरुको रिपोर्टिङका आधारमा पोखराबाट २५ प्रतिशत व्यवसायी विस्थापित भएको आँकडा निकालिएको हो । त्यसो त यहाँ दर्ता भएका व्यवसायीहरुको तथ्यांक नै स्पष्ट छैन । करिव ५ हजार हाराहारी व्यवसायी विस्थापित भएको बताईएको छ ।

खासगरी घर भाडामा लिएर व्यवसाय गर्नेहरु संकटमा परेका छन् । ‘पैतृक सम्पत्तिमा बिजनेस गर्नेहरु धानिएका छन् । सबै भाडामा लिएर गर्नेलाई त गाह्रो भयो, पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भने, ‘बैंकहरुले पनि व्यवसायीलाई पेलिरहेका छन् । मौद्रिक नीति समयमा लागू भएन । अझै विजनेस छोड्नेहरु बढ्छन् ।’ उनका अनुसार समयमा समस्या सम्बोधन गर्न नसके ४० प्रतिशत व्यवसायीले यो क्षेत्र छोड्ने छन् । पर्यटक नआएपछि पर्यटन क्षेत्र संकटमा छ ।

एकातिर बैंक तथा वित्तीय संस्थाको पेलान अर्कोतर्फ सरकारी राहत कार्यक्रम कार्यान्वयनमा नआएको हुँदा व्यवसायी तनावमा परेका होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । ‘जता हेर्‍याे उतै सटर बन्द छन् । व्यवसायी सटर खोल्नै मान्दैनन्,’ उनले भने, ‘कतिपय घर गैसके । कसैले सामान उठाएर हिडे, कसैले भाडा कटाउने गरि सामान छोडिदिए ।’ व्यवसायीलाई राहत दिन सरकारले कन्जुस्याईं गरेको उनको भनाई छ । मौद्रीक नीति बेलैमा कार्यान्वयन हुन सके पलायनलाई रोक्न सकिने व्यवसायीहरुले बताए ।

पोखराको पर्यटन क्षेत्रमा ५ खर्व भन्दा बढी लगानी भएको सरकारी तथ्यांक छ भने ७५ हजारले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन् । लकडाउनका कारण दैनिक ७ करोड रुपैयाँ नोक्सानी बढ्दै गएको देखाईएको छ । ब्यापारीहरुले पर्यटन क्षेत्र छोड्दा ब्यापारको नेटवर्क टुट्न सक्ने संकेत गरिएको छ । यहाँका व्यवसायीहरुले कोरोना विरुद्धको खोप उपलब्ध नहुँदासम्म होटल व्यवसाय सुरु नगर्ने घोषणा गरेका छन् । केही समयअघि देखि भद्र आन्दोलन समेत थालेका छन् । व्यवसायीले सटर छोडेपछि अधिकांश ठाउँमा ‘सटर भाडामा’ बोर्ड टाँसिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *