देउवाले बोलाए पदाधिकारी बैठक, यी हुन् एजेण्डा

काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएका हुन् । सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४औं महाधिवेशनबारे छलफल गर्न बैठक डाकिएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

कांग्रेसले आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्दैछ । त्यसका लागि चाँडै क्रियाशील सदस्यता टुङ्ग्याउनुपर्ने चुनौती कांग्रेसलाई छ । जुन काम अहिलेसम्म टुङ्गिएको छैन । साउन १२ देखि गाउँ/नगरमा महाधिवेशन शुरु हुँदैछ । नेता रमेश लेखको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले काम गर्न सकेको छैन । नेताहरुले क्रियाशील सदस्यताकै कारण महाधिवेशन रोकिन नहुने भन्दै नेतृत्वलाई झक्झकाइरहेका छन् ।

देउवा प्रधानमन्त्री बनेपछि महाधिवेशनकेन्द्रित गतिविधिमा ह्रास आउनसक्ने भन्दै कतिपय नेताहरुले चिन्ता व्यक्त गरेका छन् । ०७७ मै महाधिवेशन गर्नुपर्ने कांग्रेसले विधानबमोजिम १ वर्ष थप गरेर भदौमा गर्नेगरी महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको हो । भदौमा कांग्रेसलाई महाधिवेशन गर्नैपर्ने संवैधानिक अड्चन पनि छ । त्यसका कारण महाधिवेशन हुनैपर्ने कांग्रेस नेताहरुले बताइरहेका छन् ।

कांग्रेसमा नेतृत्व चयनको महत्वपूर्ण हिस्सेदार क्रियाशील सदस्यहरु हुन् । त्यसैले पनि क्रियाशील सदस्यतामा सबैको चासो र चिन्ता रहन्छ । कांग्रेसको विधानअनुसार क्रियाशील सदस्य नरहेको व्यक्ति टोल कार्यसमितिबाहेक अन्य कुनै तहमा सदस्य हुन सक्दैन । यस्तै विधानअनुसार क्रियाशील सदस्य संख्याको आधारमा वडाको कार्यसमितिको संख्या निर्धारण हुने गर्छ । जसमा प्रत्यक्ष र समानुपातिक समावेशीका आधारमा प्रतिनिधि पनि छनोट गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *