सुजिता ठाकुर हत्या अभियोगमा चारजना पक्राउ‚ यसरी गरिएको थियो हत्या

जनकपुरधाम । रहस्यमय तरिकाले हत्या गरिएको महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आरोपमा प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ । महोत्तरी प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत चारैजना आरोपितलाई सार्वजनिक गरेको हो ।

आइतबार शौचालयको सेफ्टी ट्यांकीमुनि गाडिएको अवस्थामा सुजिताको शव फेला परेको थियो ।

पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, भ्रमरपुराकै ३७ वर्षीय बण्ठा भनिने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम राइन र ३२ वर्षीय नथुनी मण्डल रहेका छन् ।

पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले मृतकका पति ३१ वर्षीय मुकेश ठाकुरलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्दा उनको संलग्नता नदेखिएकाले थुनामुक्त गरिएको बताए । सुजिताका पति मुकेशलाई मृतक सुजिताका बुबा कामेश्वर पाण्डेको जिम्मा लगाइएको छ ।

पक्राउ परेका बण्ठा, मुल्ला र नथुनीले मृतकको शव ओसारपसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्न सहयोग गरेकाले पक्राउ गरिएको जानकारी दिए । घटनाको अनुसन्धान अझै बाँकी रहेको उनले बताए ।

प्रहरीले अझै हत्याको कारण लगायतका विषय नखुलाएकाले घटना थप रहस्यमय बनेको छ । जेठ २० देखि हराइरहेकी सुजिताको शवको अवशेष असार १३ गते खेतमा फेला परेको थियो भने खोजबिनकै क्रममा असार २७ गते शवको बाँकी भाग सेफ्टी ट्यांकीमा फेला परेको थियो ।

हत्या गरेर यसरी लुकाइएको थियो शव
सुजिताको हत्या २० जेठमा बिहान ८/९ बजेतिर नै देवर रुपेश ठाकुरले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । देवर रुपेशले सुजिताको कोठाभित्र प्रवेश गरी पछाडिबाट मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्काई घाँटीसमेत थिची हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको डीएसपी प्रकाश विष्टले बताए ।

हत्या पश्चात् रुपेशले दिनभरी शवलाई सुजिताकै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेका थिए । राति साढे ८ देखि ९ बजेको बिचमा सुजिताको शवलाई आफ्नै ट्रयाक्टरमा राखेर घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको आफ्नै खेतमा खाल्डो खनी गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । शव गाडेको भोलिपल्ट सो ठाउँमा पानी हाली धानको बिउ छर्किए ।

त्यहाँ अरुले थाहा पाउने र देख्ने भएपछि २९ जेठमा मध्यराति पुनः शव त्यहाँबाट निकाली घरबाट करिब पाँच सय मिटर पूर्वतर्फ निर्माणाधीन पेट्रोल पम्पसँगै टाँसिएर रहेको आफ्नै चिरान मिल गोदामको जग्गामा उत्तरतर्फ निर्माणाधीन सेफ्टी ट्यांकीमा ४ फिट गहिरो खाल्डो खनी शव पुनः गाडिएको थियो । शव गाडेर माथिबाट ६ ईन्च जति मोटो सिमेन्ट र बालुवाले ढलान गरी माथिल्लो भागमा काठका थुप्राहरू राखिएको थियो । पहिले शव गाडिएको स्थानमा भोलिपल्ट पुनः पानी हाली धानको बिउ छर्किइएको थियो ।

जेठ २० देखि बेपत्ता सुजिताको शवको अवशेष असार १३ गते खेतमा खाल्डो खनेपछि फेला परेको थियो । अनुसन्धानकै क्रममा असार २७ गते घरबाट करिब ५ सय मिटर पर आफ्नै चिरान मिलको नजिक निर्माणाधीन पेट्रोल पम्पको छेउमा शौचालयको सेफ्टी ट्यांकीमा खाल्डो खनी गाडेर माथिबाट प्लास्टर गरेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *