प्रदेश २ : न मन्त्री, न बजेट !

जनकपुरधाम । प्रदेश २ सरकारका दुई मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १०/१० करोड रुपैयाँमात्रै बजेट विनियोजन भएको पाइएको छ । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराई उसलाई दिने भनी खाली राखिएको मन्त्रालयलाई कुल १०/१० करोड रुपैयाँमात्रै विनियोजन भएको पाइएको हो ।

प्रदेश २ मा वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय हाल मन्त्रीविहिन छन् । ती मन्त्रालयहरू अहिले मुख्यमन्त्री लालबाबु राउतले आफ्नै मातहतमा राखेका छन् ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार माओवादी केन्द्रलाई सरकारमा सहभागी गराई ती मन्त्रालय उनीहरुलाई नै दिने योजनामा मुख्यमन्त्री राउत लागिपरेका छन् । जसको बजेट कुल १०/१० करोड रुपैयाँ रहेको छ । उक्त मन्त्रालयहरुका लागि कुनै पनि योजना छुट्याइएको छैन ।

कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये खर्च शीर्षक नम्बर २८९११ अन्तर्गत भईपरी आउने चालु खर्चतर्फ पाँच करोड र खर्च शीर्षक नम्बर ३१५११ अन्तर्गत भइपरी आउने पुँजीगततर्फ पाँच करोड गरी जम्मा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । यसका अतिरिक्त मन्त्रालयमा भने कुनै पनि योजना राखिएको छैन ।

 

त्यस्तै वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको नाममा समेत १० करोड रकम विनियोजन गरिएको छ । यस मन्त्रालयका लागि समेत कुनै योजना र कार्यक्रम छुट्याइएको छैन । खर्च शीर्षक नम्बर २८९११ अन्तर्गत भइपरी आउने चालु खर्चतर्फ पाँच करोड र खर्च शीर्षक नम्बर ३१५११ अन्तर्गत भइपरी आउने पुँजीगततर्फ पाँच करोड गरी जम्मा १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यी मन्त्रालयहरूलाई आगामी आर्थिक वर्षका लागि लागि छुट्याइएको बजेटमा न बजेट उपलब्ध गराइएको छ‚ न त मन्त्रालयलाई योजना नै दिइएको छ । दुवै मन्त्रालय मन्त्रीविहिन छन् भने तिनै मन्त्रालयहरुका लागि एकजना पनि कर्मचारीको व्यवस्था गरिएको छैन ।

केन्द्रको समीकरण र जसपाको आन्तरिक किचलोका कारण प्रदेश २ सरकार पुनर्गठन भएपछि मुख्यमन्त्री राउतले मन्त्रालय टुक्र्याएका थिए । सातवटा मन्त्रालय रहेको रहेको प्रदेश २ मा मन्त्रिपरिषद् पुनर्गठनपछि ११ वटा मन्त्रालय बनाइयो ।

प्रदेश २ मा हाल मुख्यमन्त्रीसहित ९ मन्त्री र ३ राज्यमन्त्री गरी जम्मा १२ सदस्यीय मन्त्रीमण्डल छन् । तर अझै पनि दुई मन्त्रालय मन्त्रीविहीन नै छन् ।

जसपाको आन्तरिक किचलो उत्कर्षमा पुगेपछि मुख्यमन्त्री राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने प्रयास सुरु गरे । मुख्यमन्त्री राउतले ती दुवै दललाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्र्याए । कांग्रेस ३ मन्त्रालयसहित सरकारमा सहभागीसमेत भयो‚ तर मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा सहभागी हुन अनिच्छा देखायो ।

कांग्रेस सरकारमा सहभागी भएपनि माओवादीले सरकारमा सहभागिताका लागि आकर्षक मन्त्रालय माग गरेको थियो । तर मुख्यमन्त्री आकर्षक मन्त्रालय दिन तयार नभएपछि माओवादी हालसम्म प्रदेश २ सरकारमा सहभागी भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *