प्रदेश १

कांग्रेस महाअधिवेशन : जिल्लाहरुमा बर्खा बाधक हुने

विराटनगर । नेपाली कांग्रेसभित्र नेतृत्वको लागि चुनावी सरगर्मी शुरु भएको छ । दलभित्रको राजनीतिका कारण केन्द्रदेखि तल्लो तहसम्म चहलपहल देखिन्छ ।

कसलाई नेतृत्वमा ल्याउने भन्नेमा कार्यकर्तादेखि नेताहरुमा अड्कलवाजी शुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिमा क्रियाशीलताको विवाद टुङ्गो लगाउन नसकेको अवस्थाले कांग्रेसका पूर्व निर्धारित निर्वाचन हुने नहुनेमा अन्यौलता पनि बढेको देखिन्छ । तल्लो तहमा नेतृत्वको लागि तयारी शुरु भएपनि चुनाव हुने नहुनेले नेतृत्वमा कसलाई ल्याउने भन्ने अंकगणित भएपनि केन्द्रिय नेतृत्वको विस्वास भने जिल्ला तहले गरिसकेको छैन ।

१४ जिल्ला रहेको प्रदेश १ मा नेपाली कांग्रेसको नेतृत्वका लागि केही जिल्लामा निक्कै सरगर्मी देखिन्छ भने केही जिल्लामा खासै महाधिवेशनको चटारो देखिन्न । क्रियाशिलता विवाद नमिल्दासम्म चुनाव हुने ग्यारेन्टी नभएको नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणी राई बताउँछन् । ‘यो बर्खाको बेलामा चुनाव गर्ने भनेर हुँदैन,’ उनले भने, ‘पानी झरीको समय हुन्छ, २ सय जना अटाउने खालका हल छैनन्, खेतीपातीको बेला चुनाव गर्छु भनेर हुन्न भनेर मैले नेतृत्वलाई भनेको छु ।’

केन्द्रीय निर्वाचन आयोग तथा केन्द्रीय निर्वाचन प्रतिनिधि परिचालनको तयारीसमेत नभएको अवस्थामा चुनाव हुने छाटकाँट आफुले नदेखेको उनको भनाई छ । केन्द्रीय समितिले मिति तोकेको कारण महाधिबेशनको आन्तरिक गृहकार्य भने सबै जिल्लामा छ ।

१२ औं महाधिवेशनबाट सभापति भएर १३औं महाधिवेशनमा पराजय ब्यहोरेका उदयपुरका कांग्रेस नेता हिमाल कार्की निर्वाचनको तयारीमा आफू लागेको बताउँछन् । क्रियाशील सदस्यताको विववाद मिल्ने बित्तिकै सबैलाई सजिलो हुने थियो, केन्द्रका आन्तरिक कुरा नमिल्दासम्म निर्धारित समयमा निर्वाचन हुने नहुने भन्ने अन्यौल जस्तो देखिएको कार्कीको भनाई छ ।

नेपाली कांग्रेस संखुवासभा सभापति दिपनकुमार श्रेष्ठ जिल्लामा अहिलेसम्म खासै चुनावी चहलपहल नभएको बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट साउन ३ गतेसम्म निशेषज्ञा जारी रहेकोले आन्तरिक छलफल र कुराकानी बाहेक कुनै तयारी नभएको श्रेष्ठको भनाई छ । ‘जिल्लामा जुन खालको रौनक आउनु पर्ने हो त्यो भएको छैन,’ उनले भने, ‘बर्खाको समय भएको कारण पनि त्यो उत्साह नभएको हुनसक्छ ।’

बाढी पहिरोका कारण आवत जावतमा समस्या हुने, कोभिडको संक्रमण नघटेको तथा भेला हुने अवस्था नभएको कारण त्यो उत्साह नदेखिएको हुनसक्ने उनले बताए । पहिलाको जस्तो सबै भेला भएर अधिवेशन सम्पन्न गर्ने अवस्था यो अधिवेशनमा नहुने उनको भनाई छ ।

नेपाली कांग्रेसले साउन ६ गते वडा तहको अधिवेशन गर्ने भनेको छ । साउन ११ मा गाउँ र नगरपालिका अधिवेशन, प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन साउन १६ गर्ने तय गरेको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने भनिएको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ भने प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते हुने भनिएको छ । केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने कांगग्रेसको तयारी छ ।

अधिवेशनको कार्यतालिका झरी पर्ने समय मध्य बर्खामा परेको कारण अधिवेशन नै नहुने हो की भन्ने आशंका जिल्ला सभापतिहरुमा छ । तर उनीहरु निर्धारित समयमा नै अधिवेशन गर्नु पर्ने अडानमा देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *