सम्झौता सकिनै लाग्दा काम सुरु, जनतालाई सास्ती

धनगढी । कैलालीमा २०५१/५२ मा चुरे गाउँपालिकाको कार्यालय हुँदै जाने सडकलाई कृषि सडक अन्तर्गत सहजपुर-सोल्टा सडक नामाकरण गर्दै काटियो । त्यसपछि २०६/६१ मा साविकको जिल्ला विकास समितिले सुधारका लागि बजेट विनियोजन पनि गर्यो ।

त्यसयता उक्त सडक स्तरोन्नतिका लागि कुनै काम भएन । मानिसहरुलाई सडक हुँदै आवतजावत गर्न सहज भएकै थियो । स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय सहजुरबाट ६ किलोमिटर टाढा घरखेडामा निर्माण गर्ने निर्णय गरियो । सो निर्णयसंगै गाउँपालिकासम्म उक्त सडकलाई स्तरोन्नति गर्ने निर्र्णय पनि गरियो । त्यसका लागि २०७४/७५ मा स्थानीय उपभोक्तामार्फत र २०७५/७६ मा सडक स्तरोन्नतिका लागि नाला र ग्राबेल गर्न जागृति निर्माण कम्पनीलाई गाउँपालिकाकाले ठेक्का लगायो ।

सडक स्तरोन्नतिका नाममा अहिले चुरे गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ का बासिन्दा र सेवाग्राहीले समस्या झेलिरहनु परेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म काम सक्नुपर्नेमा सम्झौता सकिनै लाग्न निर्माण कम्पनीले काम सुरु गरेको छ । चालु आर्थिक वर्षको असार मसान्तका सम्झौता सकिन लाग्दा निर्माण कम्पनीले जेठदेििख सडक स्तरोन्नतिको काम अगाडि बढाउँदा अहिले जनतालाई आवतजावतमा समस्या भएको छ ।

अन्य समयमा काम नगर्ने र असार मसान्तमा मात्रै गरिने निर्माणको कामले आवतजावतमानै सास्ती भएको छ । साना सवारी साधानदेखि पैदल हिड्न पनि सकिने अवस्था छैन । सडक स्तरोन्नतिको लागि काम सुरु हुनु भन्दा अगाडि बजारसम्म पुग्ने स्थानीय कृषि उत्पादन पनि अहिले गाउँमै कुहिन थालेका छन् । गाउँमा तरकारी तथा फलफूल उत्पादन हुने समयमा नै सडक हिड्नै नसकिने भएको छ ।

‘विगतमा गाउँमा उत्पादन भएका तरकारी, फलफूलहरु यही बाटो भएर बजारसम्म लैजान सकिन्थ्यो,’ स्थानीय खगेन्द्र खडायतले भने, ‘अहिले बारीमा कुहाउन बाध्य छौं, सडकमा हिड्ने अवस्थानै छैन ।’

 

निर्माण कम्पनीले वर्षाको समयमै आएर काम गर्न थालेपछि आजित भएका स्थानीयले केही दिनअघि सडकमै धान रोपेर विरोध जनाए । सरकारनै धान उत्पादनलाई बढवा दिनका लागि असार १५ मा धान दिवस मनाईप रहँदा स्थानीयले भने सडकमा आएर धान रोपे । सडकमा खेप्नु परेको दुःख व्यक्त गर्न सडकमै आएर धान रोप्नुपरेको स्थानीय टीकाराम ढुंगानाले बताए ।

स्थानीय तहको निर्वाचनमा असारमै गाडीमा यही बाटो भएर प्रचारप्रसार गरेको स्मरण गर्दै गाउँपालिकाको अध्यक्षका उम्मेदवार ढुंगानाले भने, ‘अहिले आएर जेठ-असारमा बाटो हिड्ने नसकिने भयो ।’ उनले यसमा गाउँपालिकाको चरम लापरबाही भएको बताए ।

यसअघिसम्म साना-ठूला सवारी साधनमा यात्रा गर्न सकिने उक्त बाटो अहिले अधिकांश व्यक्तिहरु दुई घण्टा बढीको पैदल यात्रा गर्न बाध्य छन् । साना सवारी साधन लिएर जानेहरुलाई पनि गाउँपालिकासम्म पुग्न सहज छैन । हिलाम्मे भएर हिड्नुपरेको छ । जनप्रतिनिधिले पनि यो समस्यालाई स्वीकार गर्दै आफू पनि पैदन हिड्न बाध्य भएको बताउँछन् ।

‘बाटो हिलाम्य भएपछि गाउँसभा जान पनि पैदलनै हिड्नु पर्यो,’ वडा नम्बर २ का अध्यक्ष तारासिंह साउँदले भने, ‘असारमा भइरहेको विकासले समस्या निम्त्यायो ।’ जनप्रतिनिधि मात्रै नभई गाउँपालिकामा कार्यरत कर्मचारी पनि उक्त बाटो भएर लामो दरीमा पैदलनै हिड्न बाध्य भइरहेका छन् । समयमै काम नगर्ने, बजेट सकाउने र रकम निकासा गर्ने बाहानामा असारमा आएर गुणस्तरहिन काम भइरहेको स्थानीयको आरोप छ ।

एक अर्कालाई दोषारोपण
सडक समयमै निर्माण हुन नसक्नुमा गाउँपालिका र निर्माण कम्पनी एकअर्कालाई दोष लगाइरहेका छन् । सडक स्तरोन्नतिका लागि चुरे गाउँपालिकाले दुई वर्षअघि चालु आर्थिक वर्षमा सडक निर्माण सम्पन्न गर्नुपर्ने समय तोकेर जागृत्ति नर्मिाण कम्पनीसंग तीन करोड ६४ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

तर, अहिलेसम्म निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाको दाबी छ । गाउँपालिकाका इन्जिनियर बिक्रम कँडेलले निर्माण कम्पनी र प्राविधिक त्रुटिका कारण सडक निर्माण ढिलाई भएको बताए । उनले अहिले ५० प्रतिशत काम सम्पन्न भएको दाबीसमेत गरे ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले निर्माण कम्पनीका कारण सडक निर्माणमा ढिलाई हुँदा सेवाग्राही र जनप्रतिनिधिले सास्ती पाएको बताए । निर्माण कम्पनीले बदमासी गर्दा जनताको गाली खानुपरेको उनले बताए । वर्षा लागेपछि निर्माण कम्पनीले डोजर चलाउँदा आवतजावतमा जनताले सास्ती बेहोर्नु परेको उनको भनाई छ । ‘छ महिना भित्रै काम सक्ने प्रतिबद्धता जनाए म्याद थप्ने तयारीमा छौं’ अध्यक्ष रोकामगरले बताए ।

जागृति निर्माण सेवाको तर्फबाट वारेसनामा काम गरिरहेका सुरेश रोकायाले समयमै इआइए नहुँदा र भीओमा परिणाम नहुँदा सडक निर्माणमा ढिलाई भएको बताए । सडक चौडा गर्ने, माटो पटानी, नाली बनाउने काम धेरै ठाउँमा सम्पन्न भएको दाबी गर्दै उनले भने, ‘छ महिना म्याद थपिएर सरासर काम गर्न पाए त्यो समयभित्र काम सक्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *