एउटै ठेक्का तीनपटक संशोधन‚ कमिसनको आशंका

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाले टेण्डरमा ‘सेटिङ्ग’ नमिलेपछि पटक–पटक बोलपत्र संशोधन गरेको पाइएको छ । आफैँले भनेको ठेकेदारलाई ठेक्का पार्न गाउँपालिका कार्यालयले एउटै बोलपत्रलाई तीन पटकसम्म संशोधन गरेको हो ।

औरही गाउँपालिका–२ देउरी परवाहास्थित १५ शय्याको प्राथमिक स्वास्थ्य चौकी निर्माणका लागि आह्वान भएको बोलपत्र नियमविपरीत पटक–पटक संशोधन गरिएको हो ।

स्वास्थ्य चौकी निर्माणका लागि २०७७ साल पुस २९ गते पहिलोपटक बोलपत्र (टेण्डर) आह्वानको सूचना प्रकाशित गरिएको थियो । सोही सूचनाको आधारमा ११ वटा निर्माण कम्पनीले टेण्डर प्रक्रिया पुर्‍याएर आवेदन पेश गरे । तर अन्तिम समयमा गाउँपालिका कार्यालयले टेण्डर नै रद्द गर्‍यो ।

२०७८ वैशाख १७ मा पुनः दोस्रो पटक टेन्डरको सूचना प्रकाशित भयो । त्यसपटक पनि ११ वटा कम्पनीले रितपूर्वकको बोलपत्र भरे र बुझाए ।

तर पुनः टेण्डर खुल्नुभन्दा केही घण्टा अगााडि मात्रै टेण्डरको समय थप्दै मापदण्ड नै परिवर्तन गरेर अर्को सूचना प्रकाशन गरियो । चाहेकै ठेकेदार र चाहेजति ‘कमिसन’को चक्करमा तीन पटकसम्म बोलपत्र परिवर्तन गरेपछि निर्माण व्यवसायीले भने आक्रोश पोखेका छन् ।

गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव र प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुरले ‘कमिसन’को चक्करमा आफूले चाहेकै कम्पनीलाई ‘सेटिङ्ग’मा ठेक्का पार्न पटक–पटक टेण्डरको मापदण्ड नै परिवर्तन गरेको उनीहरुको आरोप छ ।

बोलपत्र नै गलत
बोलपत्र आह्वान गर्दा औरही गाउँपालिका हुनुपर्नेमा औरही नगरपालिका लेखिएको छ । औरही नगरपालिकाको नाममा धनुषाका कुनै पनि बैंकमा खाता नै नरहे पनि खाता नम्बर उल्लेख गरिनु अर्को त्रुटी हो ।

एकपटक बोलपत्रको सूचना प्रकाशन गरेर आवेदन लिइसकेपछि मापदण्ड संशोधन गर्ने व्यवस्थै नभएको ठेकेदारहरू बताउँछन् । तर गाउँपालिका कार्यालयले दोस्रो पटक प्रकाशित सूचनालाई पटक-पटक संशोधन गरेर थप पाँचवटा निर्माण कम्पनीको आवेदन स्वीकार गरेको छ ।

सूचना संशोधन गरेर लुम्बिनी जिएनएनजेभी, समान्तर बाबु जेभी, खानी अर्घाखाँची जेभी, रबिना निलगिरी आर्दश जेभी र विकास टिडीआर बिएनबी जेभीसहित पाँचवटा निर्माण कम्पनीको आवेदन स्वीकार गरिएको हो । यिनै पाँच मध्येका कम्पनीलाई ठेक्का मिलाउने गरी गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत ठाकुरले पटक पटक सूचना संशोधन गरेको ठेकेदारले आरोप लगाएका छन् ।

नेपाल निर्माण व्यावसायी महासंघ प्रदेश २ का अध्यक्ष सुरेन्द्रप्रसाद चौधरी र महासंघ धनुषाका अध्यक्ष अशोककुमार चौधरीले गाउँपालिकाले नियम कानुनको धज्जी उडाएको भन्दै कानुनी लडाइँ लड्न निर्माण व्यवसायीलाई सुझाव दिँदै विज्ञप्ति निकालेका छन् । नियमविपरीत आफ्नो मनपर्दी ढङ्गले टेण्डर प्रक्रिया अगाडि बढाउन नमिल्ने भन्दै प्रक्रिया तत्काल स्थगित गर्नुपर्ने महासंघको माग छ ।

बोलपत्र कानुनअनुसार नै संशोधन गरिएको हो : प्रमुख प्रशासकीय अधिकृत ठाकुर
औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोध ठाकुरले बोलपत्र तीनचोटी संशोधन भएको स्वीकार गरेपनि त्यसमा कुनै किसिमको सेटिङ् र गडबडी भने नभएको दाबी गरे । मकालु खबरसँग कुरा गर्दै उनले बोलपत्र आवश्यकताअनुसार परिवर्तन गर्नसक्ने कानुनी प्रावधान तथा अधिकार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *