आफूखुसी नम्बर दिने र प्रश्नपत्र आउट गर्ने दुई उपप्राध्यापक बर्खास्त

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले पदीय आचारणविपरीत शैक्षिक अपराध गरेको अभियोगमा दुईजना उपप्राध्यापकलाई बर्खास्त गरेको छ ।

विश्वविद्यालयको ईञ्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका करारका उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरिएको विश्विद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले मकालुखबरलाई जानकारी दिए ।

यादवले विद्यार्थीलाई आफूखुसी नम्बर दिएको, कक्षामा अनुपस्थित विद्यार्थीको हाजिर मिलाइदिएको, पूरा कक्षा नपढाएको, ल्याब पनि नबनाएको पाइएपछि छानबिनका लागि गठन गरिएको समितिले अक्षम्य अपराध गरेको ठहरसहित कारबाहीका लागि सिफारिस गरेकाले कारबाही गरिएको उपकुलपति सिंहले बताए ।

यादबले स्ट्रकचरल ईञ्जिनियरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापकले आफूखुसी नम्बर दिएको पाइएको र उनले विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुसी नम्बर दिएको छानबिनबाट पुष्टि भएको उनले बताए ।

यस्तै विश्वविद्यालयको कानुन विभागका करारका उपप्राध्यापक पन्तलाई प्रश्नपत्र आउट गरेको पाइएकाले बर्खास्त गरिएको उनले बताए । यसअघि नै तीन महिनाका लागि निलम्बन गरिएको र छानबिन समितिको सुझावपछि बर्खास्त नै गरिएको उपकुलपति सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *