माओवादी नेता यादवको निधन, अन्त्येष्टिमा प्रचण्ड सहभागी हुने

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । करिब तीन वर्ष भन्दा बढीदेखि क्यान्सर रोगबाट पीडित नेता यादवको ५७ वर्षको उमेरमा सोमबार राति निधन भएको परिवारजनले जनाएको छ ।

सोमबार राति १० बजेतिर जनकपुर-१४ मुजेलियास्थित आफ्नै निवासमा यादवको निधन भएको माओवादी केन्द्रका जिल्ला सचिव दिपक यादवले जानकारी दिए । मृतक यादवका भतिज श्याम यादवका अनुसार बाबासीर क्यान्सरबाट पीडित नेता यादवको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।

समस्या समाधान नभएपछि पछिल्लो समय चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका चिकित्सकको सल्लाहमा घरमै राखेर उपचार गरिदै आएको थियो । यादवको आजै जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने पार्टीका जिल्ला दिपक यादवले जानकारी दिए ।

सचिव यादवका अनुसार श्रद्धाञ्जली तथा अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवसहितका शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम रहेको छ ।

यादवको दुई छोरी र एक छोरासहित तीन सन्तान रहेका छन् । धनुषाको शहीदनगर नगरपालिका-१ बालाबाखर जन्मथलो नेता यादव तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सुरुदेखि नै सहभागि भएका थिए । उनले महोत्तरी, धनुषा र सिरहाको कमाण्ड भएर पनि काम गरेका थिए । पछिल्लो समय उनी पार्टीका केन्द्रिय सदस्य थिए ।

जेटिएको स्थायी जागिर छाडेर नेता यादव कम्युनिष्ट राजनीतिमा सक्रिय भएका थिए । धनुषा बालाबाखर गाविसको उपाध्यक्षमा समेत निर्वाचित भएका यादव यस क्षेत्रका तत्कालिन नेता रामवृक्ष यादवको प्रभावमा तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रिय भएका थिए ।

पछि उनलाई पार्टीले महोत्तरी र धनुषाको कमाण्डरको जिम्मेवारी दिएको थियो । नेता यादव नेकपा माओवादीबाट संविधानसभाको २०६४ को पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका थिए ।

प्रचण्डद्वारा दु:ख व्यक्त
यादवको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गरेका छन् । प्रचण्डले दिवंगत यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पम्फा भुसाल लगायत शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।

पार्टीले समर्पित सहकर्मी गुमाएको उनले बताए । ‘उहाँको निधनले नेपाली कम्युनिष्ट आन्दालेनले एक संद्दर्षशील कमरेड गुमाएको छ,’ प्रचण्डले भने, ‘यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *