माथिल्लाे तामाकाेसी उद्घाटन

तामाकोसीको बिजुली सबैभन्दा सस्तो, प्रतियुनिट औषत ४ रूपैयाँ ६ पैसा मात्रै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारबाट स्वीच थिचेर प्रधानमन्त्री ओलीले उक्त राष्ट्रिय गौरवका आयोजनाको उद्घाटन गरेका हुन् । आयोजनाको उद्घाटनका ऊर्जा मन्त्री विष्णु पौडेलसहित मन्त्रालयको टोली, नेपाल विद्युत् प्राधिकरण, अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेड, निर्माण कम्पनीका प्रतिधिनिधिहरु आयोजना स्थल दोलखाको गोंगर पुगेका थिए । प्रधानमन्त्री ओलीले भने आफ्नै सरकारी निवास बालुवाटारबाट आयोजनाको उद्घाटन गरेका हु्न् ।

साेमबारबाट आयोजनाकाे ७६ मेगावाटकाे पहिलाे युनिट सञ्चालनमा ल्याइकाे हाे । आयाेजना पूर्ण क्षमतामा सञ्चालन भएपछि वर्षायाममा  नेपाल विद्युतमा आत्मनिर्भर हुने अपेक्षा गरिएकाे छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् हालसम्मका सबै आयोजनाको भन्दा सस्तो दरमा नेपाल विद्युत् प्राधिकरणले खरिद गर्न पाउने भएको छ ।

आयोजना निर्माणमा जानुअघि प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राविधिकरणबीच भएको विद्युत् खरिदबिक्री सम्झौता(पीपीए)अनुसार आयोजनाका विद्युत् हाल सबैभन्दा सस्तो हुने देखिएको हो ।

पीपीए दर अनुसार माथिल्लो तामाकोसीको विद्युत् प्राधिकरणले किन्दा औषत मूल्य प्रतियुनिट ४ रुपैयाँ ६ पैसामै प्राप्त गर्ने भएको छ । हिउँदका ४ महिना प्रतियुनिट ६ रुपैयाँ ९६ पैसा र वर्षालगायत अन्य ८ महिनाको विद्युत्को मूल्य प्रतियुनिट ३ रुपैयाँ ६३ पैसा तोकिएको छ । जबकी, धेरैजसो नदीप्रवाही आयोजनाको विद्युत् खरिद–बिक्री दर हिउँदका महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र वर्षामा ८ रुपैयाँ ४० पैसा तोकिएको अवस्था छ ।

त्यस्तै, पीपीए अनुसार ९ वर्षसम्म आयोजनाको विद्युत् प्रत्येक वर्ष ३ प्रतिशतका दरले वृद्धि हुने छ । ९ वर्षसम्म तामाकोसीको विद्युत् खरिद गरिसकेपछि भने आयोजनाको विद्युत् हिउँदका ४ महिनाको विद्युत् खरिद बिक्री दर ९ रुपैयाँ ८ पैसा र बाँकी ८ महिनाका लागि ४ रुपैयाँ ७३ पैसा पुग्ने छ । आयोजनाले यो दरमा तामाकोसीको विद्युत् खिम्तिस्थित २२० केभीए सबस्टेशनमा प्राप्त गर्ने छ ।

उपभोक्ताले भने तामाकोसीको विद्युत् प्राधिकरणबाट उत्पादन सुरु भएको वर्ष प्रतियुनट औषत ४ रुपैयाँ ७८ पैसामा किन्न पाउने छन् । नवौं वर्षमा उपभाेक्ता मूल्य पनि बढेर प्रतियुनिट औषत ६ रुपैयाँ २४ पैसामा किन्न पाउने छन् । यसमा १५ प्रतिशतका दरले हुने प्रसारण चुहावटलाई जोडेर उपभोक्ता मूल्य निर्धारण गरिएको छ ।

विद्युत् प्राधिकरणले उपभोक्तालाई हाल प्रतियुनिट साढे ९ रुपैयाँदेखि १० रुपैयाँसममा बिक्री गरिरहेको छ । यसले गर्दा तामाकोसीको विद्युत्बाट प्राधिरकणलाई धेरै आर्थिक लाभ हुने देखिएको छ । यसरी खरिद मूल्यको तुलनामा बढी मूल्यमा विद्युत् बिक्री गर्न पाउँदा तामाकोसीको विद्युत्बाट प्राधिकरणलाई वार्षिक अर्बौं रुपैयाँको आम्दानी हुन्छ । तर, आयोजनाको उत्पादन लागत दोब्बर भएकोले आयोजना नाफामा जान भने केही वर्ष लाग्ने देखिएको छ ।

आयोजना नाफामा गएपछि भने प्रवर्द्धक संस्थापक सेयरधनी कम्पनीहरु, सरकारी कर्मचारी, प्राधिकरणकै कर्मचारी, स्थानीय र सर्वसाधारण सेयर लगानीकर्तालाई समेत वार्षिक रुपमा लाभांशको रुपमा प्रतिफल प्राप्त हुने छ । सेयरधनीले आफ्नो सेयर बिक्री गरी तथा पुनः खरिद गरी धितोपत्रको दोस्रो बजारबाट समेत प्रतिफल कमाउने सक्छन् ।

४५६ मेगावाको आयोजनालाई पूर्ण क्षमतामा चलाउन रोल्वालिङ खोलाबाट समेत २१ मेगावाटको विद्युत् आयोजना निर्माण गर्ने योजना कम्पनीको छ । उक्त खोलाको पानीले माथिल्लो तामाकासीलाई हिउँदमा समेत पूर्ण क्षमतामा चल्न सक्ने बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *