गणेशमान चारनाथ नगरपालिकाको बजेट झण्डै ५४ करोड

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ५४ करोडको बजेट घोषणा गरेको छ । आइतबार सम्पन्न उक्त नगरपालिकाको छैठौँ नगरसभाले आर्थिक वर्ष २०७८-०७९ का लागि ५३ करोड ७० लाख ७९ हजारको बजेट घोषणा गरेको हो ।

नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर प्रमुख रामबाबु यादवले आगामी आर्थिक वर्ष ०७८-०७९ का लागि ५३ करोड ७० लाख ७९ हजार रुपैयाँको बजेटको घोषणा गरे । ११ वटा वडा रहेको नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटको प्राथमिकताहरुमा कोरोना भाईरसको रोकथाम, नियन्त्रण तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्दै सबैको जीवन रक्षासहित जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई अझैँ तीव्रता दिने, आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय सरकार, प्रदेश सरकार र अन्तर पालिकाको साथै छिमेकी स्थानीय तहहरुसँगको सम्बन्ध बलियो बनाउने उद्देश्य रहेको नगर प्रमुख यादवले बताए ।

स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड १९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारी सँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाइ नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहेको नगर उपप्रमुख मिना यादवले बताइन ।

बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल संघ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगरप्रमुख यादवले बताए । बालश्रम मुक्त नगर घोषणा गर्ने, नगरमा पर्यटकलाई आकर्षण गर्न पर्यटनमैत्री वातावरण सृजना गर्ने जस्ता नीति लिएको नगर उपप्रमुख यादवले बताइन् ।

प्रतिक्रिया

One thought on “गणेशमान चारनाथ नगरपालिकाको बजेट झण्डै ५४ करोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *