युरो २०२० : के भन्छन् नेपालका खेलाडी र प्रशिक्षक ?

काठमाडौं । युरो २०२० का खेलहरु चल्दै गर्दा प्रतियोगिता रोचक बन्दै गएको छ । समूह चरणबाट धेरैजसो अपेक्षित टीमले नै नकआउट चरणमा स्थान बनाए । युरोको रोमाञ्चकता नकआउट चरणमा आएपछि झनै थपिएको छ । सेमिफाइनल समीकरणसम्म पुग्दा उपाधि दाबेदारी थप रोमाञ्चक बनेको छ ।

नेपाली राष्ट्रिय टीमका स्ट्राइकर तथा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास प्रतिस्पर्धा झन् झन् रोमाञ्चक भइरहेको मान्छन् । उपाधि अभियानमा बलियो मानिएको जर्मनी र फ्रान्सको हार अप्रत्यासित रहेको उनको बुझाइ छ । तर युरो भनेकै अनुमान गर्न नसकिने प्रतिस्पर्धा भएकाले हरेकपटक यस्ता नतिजा आउने गरेको उनी बताउँछन् ।

खवास भन्छन्‚ ‘अन्तिम चारसम्म पुग्दा बलिया ठानिएका केही टीमहरू पाखा लागेका छन् । तर उपाधि होडमा रहेका टीमहरुको प्रतिस्पर्धा रोमाञ्चक छ । फाइनलमा इंग्ल्यान्ड र इटाली पुग्ने सम्भावना धेरै रहेको उनको आकलन छ । तर सेमिफाइनल पुगेका स्पेन र डेनमार्क पनि सरप्राइज दिन सक्ने टीम भएकाले सेमिफाइनल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछन् ।’

त्यसो त स्पेनका समर्थक रहेका मिडफिल्डर विशाल राई टीमले उपाधि जितोस् भन्ने चाहन्छन् तर यो पटक इटाली  पनि निकै उत्कृष्ट रहेकाले स्पेनलाई सेमिफाइनलमा सहज नभएको उनी मान्छन् । बलियो देखिएको जर्मनीलाई इंग्ल्यान्डले हराएजस्तै इटालीलाई स्पेनले हराउन सक्ने उनलाई लागेको छ ।

उनी भन्छन्‚ ‘मेरो टीम स्पेन भए पनि इटालीको प्रदर्शन उत्कृष्ट छ । अनुभवी र बलियो टीमसँग जीत निकाल्न मुस्किल पर्नेछ । यो खेल मेरा लागि फाइनलभन्दा कम हुने छैन ।’

राष्ट्रिय टीमका पूर्वखेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य समूह चरणबाटै खेलहहरू टफ भएको मान्छन् । अपेक्षित टीमहरु नै नकआउट चरणमा पुगे पनि त्यसपछि बलिया टीमविरुद्ध तुलनात्मक रुपमा कम आँकिएका टीमले देखाएको बहादुरीपूर्ण प्रदर्शन हेर्न लायक रहेको उनको बुझाइ छ ।

शाक्य भन्छन्‚ ‘फ्रान्स, जर्मनी, बेल्जियम, नेदरल्यान्डलगायतका टीमहरू उपाधि होडमा बलिया थिए । तर सेमिफाइनलसम्म पुग्दा उनीहरु बाहिरिए । अब इटाली र इंग्ल्यान्ड नै फाइनल पुग्न सक्ने मलाई लाग्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *