एक वर्षमा खाने तेलको मूल्य दोब्बर, सरकार भन्छ- मूल्यवृद्धि उचित

काठमाडौं । उपभोग्य वस्तुको मूल्यले सबैभन्दा बढी उपभोक्तालाई पिरोल्छ । दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्तालाई अझ बढी समस्या हुन्छ । भान्साको अनिवार्य आवश्यकतामध्येको एक खानेतेलको मूल्यवृद्धिले अहिले उपभोक्तालाई हैरान बनाएको छ ।

फागुन अन्तिमतिर भटमासको तेल (सोयाविन तेल) को मूल्य काठमाडौंमा प्रतिलिटर १ सय ६० रुपैयाँ हाराहारी थियो । तर, ४ महिना नपुग्दै भटमासको तेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँसम्म पुग्यो । त्यस्तै, प्रतिलिटर २७५ देखि २९० रुपैयाँ रहेको तोरीको तेलको मूल्य ३३० रुपैयाँसम्म पुग्यो । अझ त्यसअघि २०७७ मंसिरदेखिकै मूल्यवृद्धि हेर्दा तेलको मूल्य प्रतिलिटर १०० रुपैयाँको हाराहारीमा बढेको छ । सुर्यमुखी (सनफ्लावर) तेलमा पनि भटमास र तोरीको तेलकै हाराहारीमा मूल्य बढेको छ ।

आफूहरु बढेको मूल्यमा तेल बेच्नुभन्दा बरु तेल नै नबेच्ने भन्दै विभागमा गएको तर महामारीमा तेलको बिक्री रोक्न नहुने भन्दै विभागले बढेको मूल्यमै तेल बेच्न आग्रह गरेको बज्राचार्यले बताए ।

मूल्यमा अस्वभाविक वृद्धि भएपछि त्यसबारे सरकारी निकायलाई जानकारी गराएपनि बढेकै मूल्यमा बेच्न भनिएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । ‘हामीले त महामारीको यो बेला सकेसम्म मूल्य नबढाऊँ भन्यौं,’ नेपाल खुद्रा व्यापार संघका निर्वतमान अध्यक्ष पवित्रमान बज्राचार्यले भने, ‘मूल्य धेरै बढेको भन्दै हामीले वाणिज्य विभागलाई रिपोर्ट गर्‍यौं । तर बढेकै मूल्यमा तेल बेच्न हामीलाई विभागले भन्यो, हामी बाध्य भयौं ।’

आफूहरु बढेको मूल्यमा तेल बेच्नुभन्दा बरु तेल नै नबेच्ने भन्दै विभागमा गएको तर महामारीमा तेलको बिक्री रोक्न नहुने भन्दै विभागले बढेको मूल्यमै तेल बेच्न आग्रह गरेको बज्राचार्यले बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नासाथ नेपालमा पनि दोब्बर नै हुनेगरी मूल्यवृद्धि गर्नुपर्ने थिएन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको कच्चा पदार्थ आउन पनि २ देखि ३ महिना लाग्छ । तर, नेपालमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भोलिपल्टै तयारी तेलको मूल्य बढाइन्छ । कम्तिमा सस्तो दरमा ल्याएको पहिलाको कच्चा पदार्थ वा तयारी तेल बिक्री गरिसकेपछि मात्रै मूल्य बढ्नुपर्ने हो । कतिपय खुद्रा व्यवसायीले पनि यसो गर्छन्‚ त्यसो गर्नु नहुने हो‚’ बज्राचार्यले भने ।

नेपालमा वनस्पति घ्यू तेल उत्पादन गर्ने उद्योगमा केही उद्योगीको मात्रै सर्वैसर्वा रहेको र सीमित उद्योग रहेकाले मूल्यमा कार्टेलिङ भइरहेको उनले बताए । ‘मुस्किलले २० वटा वनस्पती घ्यू तेलका ठूला उद्योग छन्,’ उनले भने, ‘अझ केही उद्योगीको त एक्लैले २/३ ओटा उद्योग पनि चलाइरहेका छन् । उनीहरूको संघले मूल्यवृद्धिको निर्णय गरेसँगै संघमा आवद्ध सबै उद्योगीले आफ्नो उत्पादनको मूल्य बढाउँछन् । साना तेलमिल व्यवसाय गर्नेहरुले पनि यही मौकाको फाइदा उठाउने गर्दा उपभोक्ता मारमा पर्ने गरेका छन् ।’

उद्योगी भन्छन्– अन्तराष्ट्रिय बजारमै मूल्य बढ्यो
नेपाल वनस्पति घ्यु-तेल उत्पादक संघका अध्यक्ष सन्दिपकुमार अग्रवालले भने खाने तेलको मूल्य बढ्नुमा उद्योगीको कुनै भूमिका नरहेको दाबी गरे । वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागमा अग्रवालले बुझाएको तथ्यांकलाई आधार मान्ने हो भने एक वर्षअघि अर्जेन्टिनाबाट प्रतिटन ६१६ डलरमा खरिद गरिएको क्रुड सोयाबिन तेलको मूल्य बढेर अहिले १२ सय ७९ डलर पुगिसकेको छ ।

‘म्याद ग्रुज्रिएका सामान बेच्ने उद्योगी व्यापारीले राष्ट्रपतिबाट सम्मानसहित पदक पाउने देशमा धेरै आशा गर्नु पनि व्यर्थ छ ।’

नेपालमा ब्राजिल, अस्ट्रेलिया, अर्जेन्टिना, युके, क्यानडालगायत देशबाट कच्चा पदार्थ आउने गर्छ । यही अनुपातमा तोरी र सूर्यमुखी तेलको कच्चा पदार्थको मूल्यसमेत दोब्बरभन्दा बढी भएको उनको दाबी छ । त्यस्तै, कोभिड–१९ लगायतका कारण ढुवानी भाडा, अन्य शुल्क पनि बढेकाले आयात महँगिएको र यसैका कारण तेलको मूल्य बढेको उनको दाबी छ ।

वाणिज्य विभाग भन्छ- मूल्य ‘जस्टिफाइड’ छ
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईंले उद्योगले राखेको तेलको मूल्य सान्दर्भिक भएको बताए । ‘वस्तुको मूल्य निर्धारण बजारले गर्ने हो‚ विभागले होइन,’ उनले भने, ‘उद्योगीले राखेको मूल्य सही छ/छैन भनेर हेर्ने काम हाम्रो हो । हामीले गरेको अध्ययनमा अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्य, ढुवानी लगातलगायत सबै जोडेर हुने उत्पादन लागतका आधारमा मूल्य सही नै रहेको देखिएको छ ।’

तेलमा मूल्य बढेको चर्को गुनासो भएपछि विभागका महानिर्देशकसहितको टोली वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्षकै उद्योगको अनुगमनमा गएको र मूल्य सान्दर्भिक नै रहेको देखिएको उनले बताए । ‘बदमासी गर्नेलाई विभागले कारवाही पनि गरेको छ,’ उनले भने, ‘विभागले दुईओटा उद्योगलाई ३/३ लाख रुपैयाँ जरिवाना पनि गरेको छ ।’

तोरीकै मूल्य पनि उद्योग, ब्रान्ड वा पसलअनुसार फरक हुन सक्ने कानुनी व्यवस्था नै भएको उनले बताए । ‘आफ्नो लागत र नीतिअनुसार कसैले आफ्नो उत्पादनमा ५ प्रतिशत मुनाफा राखेर धेरै परिमाणमा गर्लान्,’ उनले भने, ‘कसैले २० प्रतिशत मुनाफा राखेर थोरै परिमाणमा बेच्लान्‚ त्यो उनीहरुको नीति हो । २० प्रतिशतसम्म मुनाफा लिन पाउने कानुनी व्यवस्था भएकाले मूल्यमा केही फरक हुनुलाई अस्वभाविक मान्नु हुँदैन ।’

तेलको मूल्य थोरै घटाउने तयारी
कच्चा पदार्थमा मूल्य केही घटेको र ढुवानी सहज भएको भन्दै उद्योगले खाने तेलमा प्रतिलिटर १० देखि १५ रुपैयाँसम्म मूल्य घटाउने तयारी गरेको खुद्रा व्यापार संघका निर्वतमान अध्यक्ष बज्राचार्यले बताए । तर यसले उपभोक्तालाई खासै राहत भने नदिने उनको भनाइ छ । ‘१०० रुपैयाँ बढाएर १०/१५ रुपैयाँ घटाउँदा उपभोक्ताको मारलाई कम गर्दैन,’ उनले भने, ‘म्याद ग्रुज्रिएका सामान बेच्ने उद्योगी व्यापारीले राष्ट्रपतिबाट सम्मानसहित पदक पाउने देशमा धेरै आशा गर्नु पनि व्यर्थ छ ।’

विभागका प्रवक्ता सेढाईले पनि खाने तेलको मूल्य जेठपछि घट्ने क्रममा रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *