लोहन्द्रा पुलको विकल्प : मोतिपुरमा बन्यो अर्को पुल

विराटनगर । २०७४ साउनमा आएको बाढीले बगाएको मोरङ बेलबारी- ५ र ग्रामथान जोड्ने पुल अझै निर्माण भइसकेको छैन । जसका कारण बाढीको समयमा सर्वसाधरण वारिपारि गर्न वञ्चित भइरहेका बेला त्यसको विकल्पको रुपमा ग्रामथान ४ मोतिपुरमा ८ करोड बढीको लगानीमा अर्को पुल निर्माण भएको छ ।

पूर्वमा बेलबारी-५ र पश्चिममा ग्रामथान-४ मा पर्ने उक्त पुलले दुहबी–तेतरिया–मोतिपुर–चन्द्रगढी जोड्ने रणनीतिक सडक पनि जोड्ने स्थानीय बताउँछन् । संघीय सरकार सडक विभागद्वारा पुल निर्माण भएपछि भद्रपुरदेखि इनरुवासम्म जान तथा नयाँ बजार–मोतिपुर– सिद्रहा हुँदै बेलबारीसम्म जानका लागि पनि उपयुक्त मानिन्छ ।

धरानको सूर्या एण्ड सन्स प्रालि नामक निर्माण कम्पनीले २०७५ वैशाख १३ गतेदेखि काम सुरु गरेको थियो । झण्डै ९७ मिटर लामो पुलका लागि सरकारले भ्याट बाहेक ८ करोड ३५ लाख ४५ हजार ७७८ रुपैयाँ लगानी गरेको छ । कसेनीमा बाढीले बगाएको पुलभन्दा झण्डै ७ किलोमिटर दक्षिणमा पर्ने उक्त पुल निर्माण भएपछि आवतजावतमा धेरै सहजता भएको ग्रामथान ४ का स्थानीय खिलेश्वर सुवेदी बताउँछन् ।

यसअघि सोही क्षेत्रबाट थुप्रै पटक निर्वाचित भएका सांसद महेश आचार्यले पुल निर्माणमा चासो दिएनन् तर, जनप्रतिनिधि परिवर्तन भएसँगै बढाएको पहलले पुल बनेको सुवेदीको दाबी छ ।

सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सुरेश झाका अनुसार अबको डेढ महिनाभित्र पुल निर्माण पुरा हुने बताए । हाल ९५ प्रतिशत काम सम्पन्न भइसकेको उनको दाबी छ ।

बेलबारी र ग्रामथान गाउँपालिका जोड्ने पुल यसअघि लोहन्द्राको खोलामा आएको बाढीले बगाएको र त्यहाँ बनिनसकेको कारण यो बाटो एकदमै उपर्युक्त रहेको त्यस क्षेत्रका निवर्तमान संघीय सांसद अमनलाल मोदीको भनाइ छ । आफूले निर्वाचनको बेला प्रतिबद्धता जाहेर गरेअनुसार ठूलो मेहनतले पहल गर्दा पुल निर्माण भएको उनको दाबी छ ।

पुल बनेपछि किसानलाई धेरै सहज भएको ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले बताए ।

‘खेती पारी छ, घर यता छ, एता स्कुल छ उता घर छ, हाटबजार जान आउन पनि असहज अवस्था थियो,’ ग्रामथान–४ का स्थानीय खिलप्रसाद दाहालले भने, ‘पुल निर्माण भएको छ, यसले हामीलाई धेरै सहज भएको छ ।’

सोही पुलको सुरक्षाका लागि बाँध निर्माण पनि धमाधम भइरहेको छ । ४८ लाख रुपैयाँ लागतमा यस वर्ष बाँध निर्माणको काम भइरहेको कोशी तथा बक्राहा नदि व्यवस्थापन आयोजना प्राविधिक शाखाका इन्जिनियर कृष्णप्रसाद खतिवडाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *