पूर्वपश्चिम राजमार्ग विस्तार 

कमला–पथलैया सडकखण्डको डीपीआर बनाउन ८ कम्पनी सर्टलिस्टमा

काठमाडौं । नेपालको सबैभन्दा लामो पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग विस्तार आयोजना अन्तर्गत धनुषाको कमला नदीदेखि बाराको पथलैयासम्म १३० किलोमिटर सडकको डीपीआर तयार गर्ने कार्यका लागि ८ ओटा कम्पनी संक्षिप्त सूचिमा परेका छन् । आयोजनाको डीपीआर निर्माणका लागि सडक विभागले आह्वान गरेको बोलपत्रमा ४२ परामर्शदाता कम्पनीले भाग लिएका थिए । असारभित्रै आर्थिक प्रस्तावको मूल्यांकन सक्ने तयारी रहेको उनले बताए ।

मूल्यांकन सकेर ठेक्का प्रक्रिया पूरा भएपछि डीपीआरको काम सुरु हुने सडक विभागको बैदेशिक सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर लक्ष्मीदत्त भट्टले मकालु खबरलाई जानकारी दिए ।

संक्षिप्त सूचीमा परेका कम्पनीहरुमा एम एस जोइन्ट भेन्चर अफ इन्टरकन्टिनेन्टल कन्सल्ट्रयान्ट एण्ड टेक्नोकार्ट एण्ड दोहा इन्जिनियरिङ भारत, एम/एस जोइन्ट भेन्चर अफ मेइनहार्ट सिंगापुर, कन्सल्टिङ इन्जिनियरिङ ग्रुप एड डोङसङ्ग इन्जिनियरिङ, सिंगापुर(एम/एस जोइन्ट भेन्चर अफ चेलि इन्जिनियरिङ एण्ड पयुन्घवा इन्जिनियरिङ, कोरिया( एम/एस जोइन्ट भेन्चर अफ डासान कन्सल्ट्रयान्ट एण्ड एलईए एसोशियट साउथ एसिया, कोरिया रहेका छन् । एम/एस जोइन्ट भेन्चर अफ ईपीटीआईएसए सर्भिसियोस डे इङनेरिया एण्ड एसटीयूपी कन्सल्ट्रयान्ट स्पेन, एम/एस जोइन्ट भेन्चर अफ सुसुङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ, डोङबु इन्जिनियरिङ एण्ड कोरिया इन्जिनियरिङ कन्सल्ट्रयान्ट कोरिया, एम/एस जोइन्ट भेन्चर अफ बीओटीईके बोस्फोरस टेक्निकल कन्सल्टिङ, डोङ एआईएल इन्जिनियरिङ कन्सल्ट्रयान्ट एण्ड उमर मुनशी एसोशिएट टर्की, एम/एस जोइन्ट भेन्चर अफ आईएसएएन कर्पोरेसन, योङ्गमा इन्जिनियरिङ एण्ड एसए इन्फ्रास्ट्रक्चर कन्सल्ट्रयान्ट, कोरिया छन् ।

संक्षिप्त सूचिमा परेका कम्पनीहरु मध्ये आर्थिक प्रप्तावका आधारमा उत्कृष्ट ठहरिने कम्पीलाई विभागले डीपीआर निर्माणको जिम्मा दिने छ ।

यो खण्डमा विश्व बैंकको झण्डै ५० अर्ब रुपैयाँको लगानीमा सञ्चालित यो आयोजनामा स्ट्राटेजिक रोड कनेक्टिभिटी एन्ड ट्रान्सपोर्ट इम्प्रुभमेन्ट प्रोजेक्टअन्तर्गत काम भइरहेको छ । महाशाखाका सिनियर डिभिजनल इन्जिनियर भट्ट बताए ।

देशकै ‘लाइफलाइन’को रुपमा रहेको पूर्वपश्चिम राजमार्ग झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म तराई तथा भित्री मधेश हुँदै गएको छ । यसको कुल लम्बाई १ हजार २७ किलोमिटर छ । यो राजमार्गलाई ७ वटा खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको हो । राजमार्गमा पर्ने बजार क्षेत्रमा ६ लेन (सर्भिस लेनसहित ८ लेन) र ग्रामीण तथा जंगल क्षेत्रमा ४ लेनको बनाउने गरी राजमार्ग विस्तारको काम भइरहेको सडक विभागले जनाएको छ ।

देशको सुदूरपूर्व र सुदूरपश्चिमलाई जोड्ने यो राजमार्ग देशको उत्तर र दक्षिणलाई जोड्न आधारमार्गको रुपमा पनि रहेको छ । देशको आर्थिक विकासका दृष्टिले समेत रणनीतिक मानिने यो राजमार्ग पूर्वी एसियालाई युरोपसम्म स्थलमार्गबाट जोड्ने रोड सञ्जालमा पनि समावेश छ । त्यस्तै, एसिएन रोड नेटवर्कमा नेपालको पूर्व–पश्चिमसहित केही उत्तर–दक्षिण मार्गसमेत परेकाले यसलाई अझ महत्वका साथ विस्तार गर्न लागिएको हो ।

एसियाली विकास बैंक (एडीबी) ले उपलब्ध गराएको ऋण तथा अनुदार सहयोगबाट दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य (सासेक) राजमार्ग सुधार परियोजनाअन्तर्गत पाँचवटा खण्डमा काम भइरहेको छ । त्यस्तै, विश्व बैंकको सहयोगमा दुईवटा खण्डमा काम हुने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारको सम्पूर्ण काम ७ वर्षसम्ममा सकिने प्रक्षेपण गरेर काम थालिएको सडक विभागले जनाएको छ । यसको अर्थ २०८५ सम्ममा सबै काम सक्ने लक्ष्य छ ।

राजमार्ग विस्तारअन्तर्गत काँकरभित्ता–लौकही सप्तकोसीपूर्व खण्ड (१ सय २० किलोमिटर) रोड डिजाइन भइरहेको छ । २०७८ सालको असारसम्म यो क्षेत्रको सबै काम सक्ने लक्ष्य छ ।  कञ्चनपुरदेखि कमलासम्मको ८७ किलोमिटर खण्डमा एडीबीकै सहयोगमा राजमार्ग विस्तारको काम शुरु गर्न लागिएको छ । पथलैया–नारायणगढ खण्ड (१२० किलोमिटर) डिजाइन हुँदै भइरहेको छ । नारायणगढ–बुटबल खण्ड (११३ किलोमिटर) निर्माणाधीन अवस्थामा छ । यसमा एडीबीको सहयोग छ । बुटबल–गोरुसिंगे खण्ड (५० किलोमिटर) डिजाइन हुँदै छ । यसमा पनि एडीबीको सहयोग छ ।

गोरुसिंगेदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको ३ सय ९० किलोमिटर सडक विस्तारको सम्भाव्यता अध्ययन भने विश्व बैंकले गर्ने सैद्धान्तिक सहमति भएको छ । सम्भाव्यता अध्ययनको काम सकिएपछि मात्र बाँकी काम अघि बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =