वार्ता शुरु नहुँदै चर्कियो आन्दोलन, उपकुलपतिले मदिरा पिएर आएको आरोप

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन थप चर्किएको छ। संयुक्त संघर्ष समितिको नाममा विगत १५ दिनदेखि प्रतिष्ठानमा पारदर्शीताको माग राख्दै उठेको आन्दोलनमा आज वार्ता हुने भनिएको थियो ।

आन्दोलनरत पक्षसँग वार्तामा उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएको भन्दै आन्दोलन चर्किएको हो । आन्दोलनरत पक्षसँग वार्ताको क्रममा डा. गिरीले मदिरा सेवन गरी असामान्य व्यवहार गरेको भन्दै आन्दोलनरत विद्यार्थी, कर्मचारी, नर्स तथा चिकित्सकहरूले आन्दोलनलाई थप चर्काएका हुन् ।

दिउँसो ३ बजे संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति गिरीले मादक पदार्थ(रक्सी) पिएको जस्तो असामान्य अवस्थामा बोल्न थालेपछि संघर्ष समितिले वार्ता छाडेको थियो ।

वार्तामा बोलाएको तर रक्सी पिएर उपकुलपति आएको र अन्य पदाधिकारीहरू रमिते बनेको भन्दै आन्दोलनरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरु आक्रोशित भएको फ्याकल्टी वेलफेयर सोसाइटीका महासचिव डा एसपी रिमालले बताए । उनीहरूले उपकुलपतिसहित वार्तामा सहभागी अन्य पदाधिकारीहरुलाई वार्तास्थलबाट निस्कन दिएका छैनन् । बाहिर प्रदर्शन भएको छ । उपकुलपतिलाई सेक्युरिटी कम्पनीको भिआइपीको गाडीमा भगाउन लाग्दा समेत आन्दोलनकारीले रोकेका थिए ।

वार्तामा उपकुलपति डा गिरीसँगै रेक्टर डा गुरुप्रसाद खनाल, रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी, अस्पताल डेपुटी उपनिर्देशक डा दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा प्रमोद बराल सहभागी थिए । आक्रोशित आन्दोलनकारीहरुले उपकुलपतिको मेडिकल जाँच गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् । उनीहरुले उपकुलपतिसहित चारै जना पदाधिकारीको राजीनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक डा विष्णु पोखरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *