सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्न १५ जनाको चिनियाँ टोली अर्को साता नेपाल आउँदै

काठमाडौं । राष्ट्रिय गौरवको सूचीमा रहेको सुनकोसी–मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माणलगायत कार्य थाल्न सुरुङ विशेषज्ञसहित १५ जनाको चिनियाँ टोली अर्को साता नेपाल आउने भएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले सुरुङ लगायत अन्य संरचनाको पनि निर्माण सुरु गर्ने अयोजना प्रमुख सुशील आचार्यले बताए ।

‘जुलाई ७ तारिकमा चिनमा हुने पहिलो उडानबाट विशेषज्ञसहित पहिलो लटमा १५ जनाको टोली आउने भएको छ,’ उनले भने, ‘ठेकेदार कम्पनीले आयोजना क्षेत्रमा क्याम्प निर्माणका लागि जग्गा लिजमा लिइसकेकोले अब टोलीले क्याम्प निर्माण गरी काम सुरु गर्ने छ ।’

काम सुरु गरेको २७ महिनाभित्र सक्ने गरी उक्त कम्पनीलाई १० अर्ब ५ करोड ६८ लाख ३७ हजार रुपैयाँमा उक्त परियोजनाको निर्माण गर्न ठेक्का दिइएको छ । कोरोनाको कारण केही समय रोकिएर काम सुरु हुन लागेको हो ।

आयोजनाको हेडवक्र्स (बाँध क्षेत्र)को डिजाइन तयार भइसकेको छ । त्यस्तै, सुरुङको पनि डिजाइन तयार भइसकेको छ । टनेल बोरिङ मेसिन (टिबीएम)को प्रयोग गरेर सुरुङ खन्ने तयारी छ । त्यसका लागि पहिला २ सय ७० मिटर लामो टिबीएम मेसिन अट्ने गरी त्यही लम्बाईको सुरुङ (पोर्टाल) निर्माण गर्नुपर्ने छ । निर्माण कम्पनीले टिबिएमको डिजाइन पनि तयार गरिसकेको उनले बताए ।

कुल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाअन्तर्गत साढे ५ मिटर चौडाइको १३ किलोमिटर लामो सुरुङ निर्माण गर्ने योजना छ ।

आयोजनाको सुरुङ निर्माण गर्न पुरानो प्रविधिअनुसार ६ वर्ष लाग्ने देखिएपछि टीबीएमको प्रयोगले १ वर्ष ७ महिनामै सकिने देखिएको छ । यसअघि नेपालमै पहिलोपटक टीबीएमको प्रयोग गरी भेरी–बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण गरिएको थियो । त्यही सफल प्रविधिलाई यो सुरुङमा पनि प्रयोग गर्न लागिएको हो ।

आयोजनाको मुख्य संरचना हेडवर्क्स बनाउने क्षेत्रमा ३६ विगाहा र पावरहाउस बनाउने क्षेत्रमा १३ बिगाहा गरी ४९ विगाहा जग्गा अधिग्रहण गरिसकिएको छ । यो सिँचाई आयोजना भए पनि सुनकोसीको पानी सुरुङबाट मरिन खोलामा खसाल्ने क्रममा बीचमा पावरहाउस बनाई २७ मेगावाटसम्म विजुली उत्पादन गर्न सकिने भएपछि यो आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा अघि बढाइएको छ ।

५ जिल्लाको १ लाख २२ हजार हेक्टर सिँचाई, २७ मेगावाट बिजुली

आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिनमा खसाल्ने र मरिनमार्फत् बागमतीमा मिसाउने योजना छ । त्यो पानीबाट बागमती सिँचाई आयोजनामार्फत् प्रदेश– २ का ५ जिल्लाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाई पुर्‍याउने योजना छ । आयोजनाको सुरुङलाई हेडरेसको रुपमा प्रयोग गरी २७ मेगावाट बिजुली निकाल्ने योजना छ ।

आयोजनाको बाँध (हेडवर्क्स) सुनकोसी र तामाकोसी नदीको संगमस्थलभन्दा ७ सय मिटर तल्लो तटमा निर्माण गर्ने योजना छ । उक्त बाँध निर्माण भएपछि डुबानलगायत कारणले बाँधस्थल रहेको (खुर्कोट) क्षेत्रमा ३ किलोमिटर सार्नुपर्ने भएको आयोजना प्रमुख आचार्यले जानकारी दिए । आयोजनाबाट ५२ घर र ५४ बिगाहा जमिन मात्र डुबान तथा विस्थापित हुने हुँदा आयोजनालाई आकर्षक मानिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *