प्रदेश २ सरकारमा कांग्रेस ‘ईन’, शहीद ‘आउट’

शहीदको तस्वीर हटाएर कार्यकक्षमा कांग्रेसी नेताको तस्वीर

जनकपुरधाम । प्रदेश २ सरकारमा नेपाली कांग्रेसको प्रवेशसँगै मधेश आन्दोलनका शहीदहरुको उपेक्षा हुन थालेको छ । कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादवले आफ्नो कार्यकक्षबाट मधेश आन्दोलनका शहीदहरुको तस्वीर हटाउन लगाएका छन् ।

केही साताअघि मात्रै भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका रामसरोज यादवले आफ्नो कार्यकक्षमा न कुनै शहीदको तस्वीर राखेका छन्, न त राष्ट्रप्रमुख र प्रधानमन्त्रीको नै । आफ्नो कार्यकक्षमा उनीहरूको तस्वीर नराखेपछि प्रदेशमा यसबारे राजनीतिक चर्चा चुलिएको छ । उनले आफ्नो कार्यकक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर नराखे पनि कांग्रेसी विचारधारासँग नजिक रहेका नेताहरुको तस्वीर राख्न भने छुटाएका छैनन् ।

पहिला मधेश आन्दोलनका शहीदहरुको तस्वीर राखिएको ठाउँमा कांग्रेसका दिवंगत नेताहरुको तस्वीर राख्न लगाइएको छ । उक्त ठाउँमा अहिले वीपी कोइराला, महेन्द्र नारायण निधि, रामनारायण मिश्र र शहिद दुर्गानन्द झाको तस्वीर राखिएको छ ।

नेपालमा प्रायः मन्त्रालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने परम्परा रहेको छ भने अन्य देशहरुमा समेत मन्त्रालयमा राष्ट्राध्यक्षको तस्वीर राख्ने प्रचलन छ । डा.रामवरण यादव राष्ट्रपति रहेको बेला नेवि संघले सरकारी कार्यालयमा राष्ट्रपतिको तस्वीर राख्ने अभियान नै सञ्चालन गरेको थियो ।

यसअघि प्रदेश- २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल हुँदा उनले आफ्नो कार्यकक्षमा रहेको कुर्सीको ठीक माथी मधेश आन्दोलन तथा जनआन्दोलनका शहीदहरुको तस्वीर राख्न लगाएका थिए ।

No description available.

तर तीनै शहीदहरुको तस्वीर अहिलेका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले हटाएर कांग्रेसी विचारधारासँग नजिक रहेका नेताहरुको तस्वीर राख्न लगाएपछि प्रदेश २ मा तस्वीरको राजनीति समेत सुरु भएको छ ।

मन्त्री यादवले आफ्नो मन्त्रालयमा कांग्रेसी विचारधारासँग नजिक नेताहरुको फोटो राखेपनि राष्ट्रप्रमुखको फोटो नराखेपछि आलोचनाको शिकार बनेका छन् ।

मन्त्री यादवका स्वकीय सचिव धिरेन्द्र मोहन झाले मन्त्रीको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो पहिलेदेखि नै नरहेको दाबी गरे ।

उनले पहिलादेखि रहेको मधेश आन्दोलन तथा जनआन्दोलनका शहीदहरुको तस्वीर नटहाएको र चारवटा फोटोमात्रै थप गरिएको जानकारी दिए ।

उनले भने, ‘उहाँहरुको योगदान मधेश विकासमा रहेकाले शहीदको तस्वीरलाई पनि सोही कोठाको अन्य भित्तामा राखिएको छ, तर मन्त्रीजीको कुर्सीभन्दा ठीक माथी वीपी कोइराला, महेन्द्र नारायण निधि, रामनारायण मिश्र र शहीद दुर्गानन्द झाको तस्वीर राखिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *