सुजिता मृत्यु प्रकरण : श्रीमान् र देवर पक्राउ

जनकपुरधाम । जमीनमुनि गाडिएको अवस्थामा आइतबार एक महिलाको शव भेटिएपछि महोत्तरीमा २५ दिनदेखि बेपत्ता सुजिता ठाकुरको हत्या भएको हुनसक्ने आशंका गर्न थालिएको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भम्ररपुराका मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुर गते जेठ २० देखि बेपत्ता छिन् । सुजिताको हत्या गरेर शव ‘गायब’ बनाएको माइती पक्षले आरोप लगाइरहेको बेला घरदेखि करिब एक किलोमटिरको दुरीमा रहेको ठाकुर परिवारकै खेतमा गाडिएको अवस्थामा आइतबार दिउँसो एक महिलाको शव प्रहरीले उत्खनन् गरेको छ ।

घर पक्षले भने सुजिता अर्कै केटासँग भागेको बताउँदै आएको छ । सुजिताका दुई सन्तानमध्ये एक ९ वर्षकी छोरी र एक ५ वर्षका छोरा छन् ।

अन्ततः प्रहरीले उजुरी लियो

सुजिता बेपत्ता भएपछि उजुरी लिन सुरुमा प्रहरीले आनाकानी गरे पनि चौतर्फी दबाबपछि अन्ततः उजुरी लिन बाध्य भएको छ ।

सञ्चारमाध्यमहरूमा घटनाको बारेमा निरन्तर समाचार आउन थालेको र सामाजिक अभियन्ताहरुले घटनाको विषयमा चासो देखाई सक्रिय हुन थालेपछि प्रहरीमाथि दबाब परेको थियो । सोही कारण तथा विभिन्न सूचनाका आधारमा आइतबार घर नजिकै रहेको ठाकुर परिवारकै खेत उत्खनन् गर्दा एक महिलाको शव प्रहरीले भेट्टाएको थियो ।

श्रीमान् र देवर पक्राउ

घटनामा संलग्न रहको अभियोगमा सुजिताका श्रीमान् र देवर पक्राउ परेका छन् । महोत्तरीका प्रहरी डिएसपी प्रकाश विष्टले मृतक सुजिताका श्रीमान् मुकेश ठाकुर र देवर रुपेश ठाकुरलाई पक्राउ गरिएको जानकारी दिए । आइतबार महोत्तरी प्रहरीले सुजिताको हत्या भएको केही प्रमाण फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । ससुरा पतिराम ठाकुर भने अझै फरार रहेका प्रहरीले जनाएको छ ।

सुजिताकी आमा र छोरा रौनकले आपसमा कुरा गरेको एक भिडिओ सुजिताका भाइ जितेन्द्रले सार्वजनिक गरे । जसमा रौनकले आमालाई मारेको, जिउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको पोल खोलेका छन् । उक्त भिडिओ जितेन्द्रले फेसबुकमा राखेपछि ससुराली पक्षमा चिसो पस्न सुरु भयो । त्यही बीचमा कसैले फोनबाट सुजिताका बुवालाई जानकारी गराएका थिए । घरपक्षले आफ्नो खेतमा ७-८ फिट गहिरो खाल्डो खनेको थियो, जो अहिले माटोले पुरेर माथिबाट घाँसले छोपिएको छ ।

सुजिताका भाइ जितेन्द्रले लगातार सामाजिक सञ्जालमा सबै कुरा अपडेट गरिराखेका थिए । त्यसपछि सुजिताका ससुरा पतिरामले कुरा मिलाउन कामेश्वरलाई बारम्बार दबाब दिन थाले । जाने गइसक्यो, अब नाति–नातिनीको जीवन बनाउनूस् भनेर कामेश्वरलाई मनाउन पतिरामले पटक–पटक प्रयास गरेका सुजिताका बुवा पाण्डे बताउँछन् ।

त्यही बीचमा जितेन्द्र र रुपेशबीच फोनमा कुराकानी भयो । जसमा जितेन्द्रले दिदीको अन्तिम संस्कार गर्न शवलाई गाडेको ठाउँबाट निकाल्न रुपेशलाई अनुरोध गरेको र रुपेशले यस्तो अवस्थामा शवलाई निकाले झन् बबाल हुन्छ भन्दै डर देखाएका थिए । दिदीको हत्या गरिएको शंका बढ्न थालेपछि जितेन्द्रले साउदीबाटै बुबालाई कसैको दबाबमा नपरी प्रहरीमा मुद्दा दर्ता गर्न बारम्बार भनिरहे ।

छोरीलाई बेपत्ता बनाई हत्या गरेको आरोप लगाउँदै खोजिदिन प्रहरीकोमा उजुरी दिन सुजिताको बुबा कामेश्वर जलेश्वर पुगे । तर जिल्ला प्रहरी कार्यालयले सो उजुरी दर्ता गर्न नमानेपछि महिला सेलमा निवेदन दिएर घर फर्केको कामेश्वरले बताए । प्रहरीले बेपत्ता छोरी खोज्न कुनै चासो नदेखाएको उनले गुनासो गरे ।

यसरी उजागर भयो घटना
२० गतेदेखि महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भम्ररपुराकी सुजिता ठाकुर बेपत्ता थिइन् । कहीँकतैबाट पनि सुनुवाई नभएपछि वैदेशिक रोजगारीमा साउदी रहेका सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत् दिदीको घर पक्षले नै हत्या गरी खेतमा शव गाडेको आरोप लगाए ।

उनले सुजिताका पाँच वर्षीय छोरा रौनकको एउटा भिडिओ पनि सार्वजनिक गरे । त्यो भिडिओमा ती बालकले आमाको हत्या हजुरबुवा, बुवा र काकाले गरेको बताएका छन् । सुजिताको खोजतलासमा प्रहरीले कुनै चासो नदेखाएपछि साउदीबाट नै भाइ जितेन्द्रले जनकपुरका सामाजिक अभियन्ता सरोज रायलाई सहयोगका लागि आग्रह गरेका थिए ।

रायले घटनाबारे थप बुझ्न शुक्रबार सुजिताका माइती रतौली पुगेका थिए । उनले सुजिताका बुवा कामेश्वर, आमा र दुई कान्छा भाइ आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए । त्यसपछि शनिबार अभियन्ता रायले प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेर घटनाबारे ध्यानाकर्षण गराएका छन् । प्रहरीले जाहेरी लिएकाे तथा सुजिताका श्रीमान र देवरलाई पक्राउ गरिएकाले घटनाकाे अनुसन्धान हुनेमा स्थानीय बासिन्दा आशावादी देखिएका छन् ।

घटनाबारे सुजिताका बुबा कामेश्वर पाण्डेको भनाइ :

घटना २५ दिन पहिला जेठ २० गतेको हो । बिहान आठ बजेतिर सुजिताले बुबा कामेश्वरलाई फोन गरेर ‘कस्तो घरमा बिहे गराइदिएको’ भनेर रीस पोखेकी थिइन् । फोनमा कुरा भइरहँदा पछाडिबाट झगडाको पनि आवाज आइराखेको थियो । केही बेरपछि सुजिताको देवर रुपेश ठाकुरले पनि फोन गरेर मलाई तुरुन्त भम्ररपुरा आउन भने । म जाने तयारी गरिरहकै थिएँ, त्यतिबेलै फेरि रुपेशको फोन आयो र उनले अहिले आउनु पर्दैन झगडा शान्त भयो भने । त्यस दिन सुजितासँग भेट्न हामी कोही गएनौँ ।भोलिपल्ट सुजिताको मोबाइलमा फोन गर्दा लगातार स्वीच अफ भनिरह्यो । पछि देवर रुपेशको मोबाइलमा फोन गर्दा उनले उठाएनन् । करिब आधा घण्टापछि रुपेशले आफैँ फोन गरेर सुजिताले कोठामा ताल्चा लगाई घर छाडेर भागेको जानकारी दिए । तर रातिसम्म पनि छोरीसँग कुरा नभएपछि अर्को दिन बिहानै आठ बजे हामी बुढाबुढी (सुजिताको बुवा र आमा) भम्ररपुरा पुग्यौँ । रतौलीबाट भम्ररपुरा मोटर बाटो नजिकै भएकाले दश मिनेटमै पुग्यौँ । सुजिताको कोठामा लागेको ताल्चा फोड्न लगाएँ । सुजिताको कपडादेखि सबै समान यथावत थियो । दराजमा गरगहना पनि यथावत् देखेपछि शंका लागेर मेरो मनमा चिसो पस्न थाल्यो । तर घरपक्षले लगातार सुजिता घर छाडेर अर्कै केटासँग भागेको मात्रै भनिराखे । दश वर्ष पहिला सुजिताको बिहे पतिराम ठाकुरका जेठो छोरा मुकेशसँग भएको थियो । करिब १४–१५ महिना पहिले पनि सुजितालाई ससुरा, सासू, श्रीमान् र देवर सबैजना मिलेर कुटपिट गर्दा सुजिताको आँखामा चोट लागेको थियो ।
उपचारपछि जलेश्वर अस्पतालमा उपचार गराएर प्रहरीमा उनले निवेदन समेत दिएकी थिइन् । पछि श्रीमान् र देवरले अबदेखि कुटपीट नगर्ने लिखित शर्त गरेर प्रहरीले छाडेका थिए । त्यहीबीचमा सुजिताको चिनजान कतारमा कार्यरत पिपरा गाउँपालिका अलिपट्टी निवासी विजय मुखियासँग सामाजिक संजालमार्फत भएको थियो । बीचबीचमा विजयसँग सुजिताको कुराकानी फोनमार्फत भइरहन्थ्यो । चार–पाँच महिना पहिला विजय कतारबाट गाउँ फर्केका थिए । सुजिता आफ्नो माइती आउँदा विजयसँग एकपल्ट भेटघाट पनि भएको थियो । घटनाको एक दिन अगाडि मात्रै सुजिता आफ्नी आमासँग जनकपुर किनमेल गर्न गएकी थिइन् तर घरमा कुनै पनि विवादबारे चर्चा गरिनन् । बारम्बार घर पक्षले विजयसँग भागेको आरोप लगाएपछि सुजिताको बुबाले नै प्रहरीमा निवेदन दिएर विजयलाई पक्राउ गर्न लगाए तर दिनभरिको सोधपुछ पछि विजयलाई सात दिनसम्म गाउँ नछोड्ने सर्तमा रिहा गरिएको थियो । त्यसपछि माइती पक्षको शंका झन् गहिरो हुन् थालेको थियो । घटना भएकै दिन सुजिताका ९ वर्षीय छोरी आँचल र ५ वर्षीय छोरा रौनक दुवैलाई घर पक्षले जनकपुर बस्दै आएका फुपू अन्जु ठाकुर कहाँ पठाइदिएका थिए । र अर्को दिन फेरि फर्काएर ल्याएका थिए । घटनाको केही दिनपछि सुजिताको छोरा रौनक रतौली आएका थिए । यस्ता कुराले याे हत्या नै हाे भन्ने  हामीलाई लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *