निषेधाज्ञा उल्लंघन गर्ने १७५४ सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ५४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
तीमध्ये ५ सय ८४ वटा गाडी र १ हजार १ सय ७० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपश्चात छोडिने गरिएको जनाएको छ ।
साथै नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २ सय ४८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८३ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।
सो क्रममा २ हजार ४२ जनालाई रोकी सम्झाई बुझाइ छाडिएको छ ।
साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको ६९ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत ४ हजार १ सय २७ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको प्रहरीले जनाएको छ ।









