नेपालकाे रेल सञ्जाल

रेलमार्गको लम्बाई एक वर्षभित्रै १३९ किलोमिटर पुग्ने

बर्दिबास–निजगढ ७० किमि खण्ड निर्माण पूरा हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ भित्र १ सय ३९ किलोमिटर रेलमार्ग रेल गुड्न सक्ने गरी तयारी हुने भएको छ । जसमध्ये जयनगर (भारत)–जनकपुर–विजलपुरा ५० किलोमिटर रेलमार्गको निर्माणको काम पूरा भइसकेको रेल विभागले जनाएको छ । जयनगर–जनकपुर–कुर्थासम्म यसअघि नै भारतको सहयोग सम्पूर्ण पूर्वाधारसहित रेलमार्ग निर्माण पूरा भइसकेको छ । त्यही रेलमार्ग विस्तार गरी हाल विजलपुरासम्म चलाउन मिल्ने भइसकेको रेलविभागका इन्जिनियर सुमोद पोखरेलले जानकारी दिए ।

नेपालमा १ हजार किलोमिटरभन्दा लामो पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, रसुवागढी–काठमाडौं–लुम्बनी रेलमार्गलगायत गरी १ हजार ३ सय किलोमिटरभन्दा बढी रेलमार्गको योजना बनेकामा १ सय ३९ किलोमिटर रेलमार्ग भने रेल गुड्न मिल्ने गरी निर्माण पूरा हुने क्रममा पुगेको विभागले जनाएको हो ।

‘भारतको सहयोगमा जयनगर–जनकपुर–बिजलपुरा–बर्दिबास ६९ किलोमिटर रेलमार्ग निर्माण गरिनुपर्नेमा बिजलपुरासम्म ५० किलोमिटर रेलमार्गको निर्माण पूरा भएको हो,’ उनले भने, ‘बिजलपुरा–बर्दिबास १९ किलोमिटर खण्डमा जग्गा अधिग्रहणको प्रक्रियामा छ ।’ बर्दिबाससम्मको खण्ड भारतले नै निर्माण गरिदिने भएकोले जग्गा उपलब्ध हुनासाथ यो खण्डमा पनि रेलमार्ग निर्माण कार्य प्रारम्भ भइहाल्ने उनले बताए ।

त्यस्तै, बर्दिबासदेखि निजगढ (चोचामैरा) सम्म ७० किलोमिटर रलमार्गसमेत आगामी आर्थिक वर्षभित्रै निर्माण पूरा हुने विभागले जनाएको छ । पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत पर्ने यो खण्डको पनि धेरैजसो काम पुरा भइसकेको विभागको जेठ महिनासम्मको प्रगति विवरणले देखाएको छ । यो खण्डमा जेठ महिनासम्म ४९ किलोमिटरमा ट्रयाक बेड (रेलको लिक विच्छ्याउन आवश्यक आधार) निर्माणको काम पूरा भइसकेको छ । बाँकी २१ किलोमिटरमा समेत यो काम सञ्चालन भइरहेको र शीघ्र पूरा गर्ने योजना रहेको विभागले जनाएको छ ।

सन् २०१० मा पूर्वराष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा भारतले नेपालसँग जोड्ने ५ नाकामा सीमापार रेलमार्ग निर्माण गरिदिने सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार जयनगर (भारत)–बर्दिबास ६९ किमि रेलमार्ग निर्माण पूरा हुन लागेको हो ।
यस खण्डमा पर्ने नौवटा ठूला रेलपुलको निर्माण पनि पूरा हुन लागेको छ ।

२ सय २५ मिटर लामो कालिन्जरखोला रेलपुल र १ सय ७५ मिटर लामो फुलजोर रेलपुलको निर्माण सम्पन्न भइसकेको छ । भब्सी, बाँके, जंगा र मराहा खोलाको रेलपुल निर्माणको कार्म समेत करिब ८० प्रतिशत पूरा भइसकेको छ । सोनी, बार्बे, लखनदेही खोलामा पुलको फाउन्डेशनको ९० प्रतिशत निर्माण पूरा भइसकेको छ । यो खण्डमा निर्माण गर्नुपर्ने अन्य रेलपुलहरुको समेत ठेक्का व्यवस्थापन भई निर्माण अघि बढिसकेको विभागले जनाएको छ ।

त्यस्तै, बथनाह (भारत)–विराननगर १८ किलोमिटरमध्ये विराटनगरको कटहरी स्टेशनसम्म रेलमार्ग निर्माणको काम पनि पूरा हुन लागेको रेल विभागले जनाएको छ । त्यस्तै, जलपाइगुढी–काँकरभित्ता ७० किलोमिटर, नौतनवा–भैरहवा १५ किलोमिटर र रुपैडिया–नेपालगन्ज १२ किलोमिटर रेलमार्गको भारतले डीपीआर निर्माण गरिरहेको विभागले जनाएको छ । यसबाहेक रक्सौल–वीरगन्ज–काठमाडौं विद्युतीय रेलमार्गको डिपिआरसमेत भारतले नै निर्माण गरिरहेको विभागले जनाएको छ ।

‘भारतले डीपीआर निर्माण गरिदिएपछि यी रेलमार्गको पनि निर्माणका लागि जग्गा अधिग्रहणलगायत प्रक्रिया सुरु हुने छ,’ इन्जिनियर पोखरेलले भने ।

जयनगर–विजलपुरा ५० किमिमा रेल ?

भारतले झण्डै ५ अर्ब रुपैयाँको अनुदानमा बनाइदिएको जयनगर–विजलपुरा ५० किलोमिटर रेलमार्ग निर्माण पूरा भए पनि रेल गुड्न पाएको छैन ।

उक्त रेलमार्गमा चलाउन नेपालले दुईवटा रेल भारतसँग किनेर ल्याइसके पनि चालक दल, कर्मचारी, व्यवस्थापन सम्हाल्ने तालिम प्राप्त कर्मचारीको अभावमा रेल चल्न सकेको छैन । उक्त रेल सञ्चालनको जिम्मा पाएको नेपाल रेल्वे कम्पनीले भने रेल सञ्चालनका लागि भारतलाई लिजमा दिने निर्णय गरेको छ ।

लिजमा सञ्चालनको जिम्मा पाएको भारतीय कोन्कर कम्पनीले हाल रेल सञ्चालनका लागि कर्मचारीलाई तालिम दिनेलगायत आवश्यक तयारी गरिरहेको रेल्वे कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *