एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ । बैठक असार १६ गतेका लागि बोलाइएको एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । आइतबार (आज) बिहान बसेको स्थायी कमिटी बैठकले बैठक आह्वान गरेको हो । ‘१६ गते बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको छ,’ नेम्वाङ्गले भने— ‘समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले बैठक आह्वान गरिएको हो ।’

आज बसेको बैठकमा पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय भएको छ। यसैबीच बैठकमा विपक्षी एमालेको सन्दर्भमा पनि छलफल भएको थियो । स्रोतकाअनुसार १६ गते बस्ने बैठकले यसबारेमा केही निर्णय गर्नेछ । ‘सरकारविरुद्धको गठबन्धनमा लाग्ने साथीहरुको बारेमा पनि केही निर्णय होला १६ गते,’ एक नेताले भनेका छन्— ‘आजको बैठकमा पनि केही छलफल भएको थियो यो बारेमा ।’

बैठकमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको निर्णयलाई मान्यता नदिइ कर्णालीका चार सांसदलाई अन्तरिम आदेशमार्फत पुनःबहाली गरेको विषयमा समेत छलफल भएको थियो । ‘बैठकमा सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्रुटिपूर्ण फैसला गरेको व्याख्या गरिएको थियो । नेताहरुले ब्रिफिङ्ग गर्नुभएको थियो,’ ती नेताले भनेका छन् ।

ती नेताकाअुसार आउँदो बैठकमा सर्वोच्चप्रतिको यो फैसला, विपक्षी एमालेको कदमलगायतका विषयमा छलफल तथा निर्णय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *